दार्चुलामा स्तनपान सप्ताह सुरु, विविध कार्यक्रम गरी मनाइने 

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

दार्चुलामा स्तनपान सप्ताह सुरु, विविध कार्यक्रम गरी मनाइने 

दार्चुला ।   विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ’, भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइदैछ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई अभिप्रेरित गर्ने उद्धेश्यले हरेक वर्ष अगस्ट १ तारिख देखि विश्वभर एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी स्तनपान सप्ताह मनाइन्छ । सोमवार महाकाली नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा सुआहाराको प्राविधिक सहयोगमा एक कार्यक्रमका बीच नेपाल–भारत सीमा क्षेत्र पुलघाटमा स्तनपान सप्ताहको उद्घाटन गरिएको छ । स्तनपान सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले आमाले शिशुलाई दूध खुवाउनुपर्ने मापदण्ड व्यवहारमा लागू गर्नुपर्ने बताए । उनले पछिल्लो समय आमाहरुले बच्चाहरुलाई दूध खुवाउने क्रम घटाएको जनाउँदै यसलाई परिवर्तन गरी बच्चाको पौष्टिक आहारमा ध्यान दिन आग्रह गरे ।

सोही कार्यक्रममा सुआहाराका कार्यक्रम संयोजक वीर बहादुर बोहराले पछिल्ला वर्षमा बच्चालाई आमाको दूध खुवाउने महिलाको प्रतिशत घटेको उल्लेख गर्दै आमालाई दूध खुवाउन प्रेरित गर्न यस्ता कार्यक्रमले सघाउ पु¥याउने बताए । साथै उनले स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए । जिल्लाका ९ वटै स्थानीय तहले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी स्तनपान सप्ताह मनाउदैछन् । पछिल्लो समय आमाहरुले कार्य व्यस्तताका कारण आफ्ना शिशुलाई स्तनपान गराउने क्रम घट्दै गएको छ । नेपालको जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको छ ।

शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या भने ८९ प्रतिशत रहेको छ । शिशु जन्मेदेखि १ महिनासम्म आमाको दुध खुवाउनेको संख्या ८० प्रतिशत रहेको छ ।