भारतीयलाई नेपाली नागरिकता दिलाउन सहयोग गर्नेमाथि कारबाहीको माग गर्दै बारामा प्रदर्शन

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

भारतीयलाई नेपाली नागरिकता दिलाउन सहयोग गर्नेमाथि कारबाहीको माग गर्दै बारामा प्रदर्शन

साउन । भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सहयोग गर्ने निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षसहित दोषिमाथि कारबाही माग गर्दै निजगढका स्थानीयले इलाका प्रशासन कार्यालय सिमरामा आइतवार धर्ना र प्रदर्शन गरेका छन ।

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालयले भारतीय नागरिक रजनी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि स्थानीय युवाहरुको एउटा समुहले दोषिमाथि कारबाहीको माग गर्दै कार्यालयको प्रङ्गणमा नाराबाजीसहित १ घण्टा धर्ना र प्रर्दशन गरेका हुन ।

सचेत युवा समुह रतनपुरीको नाममा हातमा प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०÷६० जना युवाहरुको समुहले रजनीलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाउन सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव शुभचन्द्र महतो र नक्कली आमा÷बुबा बन्ने जिरामाया र श्यामराज गोलेमाथि छानबिन गरी कारबाही माग गर्दै धर्ना र प्रदर्शन गरेका हुन । 

युवाहरुले नागरिकताको सिफारिस पत्र बनाउने क्रममा प्रहरीले गरेको सर्जमिनमा साक्षी बसेर सहीछाप गर्ने स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानमाथि पनि कारबाहीको माग गरेका छन । 

भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनेमाथि छानबिन गरी कारबाही गरिनुपर्ने माग राखेर गत असार ८ गते दिएको उजुरीमा कुनै कारबाही नभएपछि बाध्य भएर कार्यालयमा धर्ना र प्रदर्शन गर्नु परेको स्थानीय रमण घिमिरेले बताए ।