भारतले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री सहयोग

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

भारतले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री सहयोग

काठमाण्डौ । भारतले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री सहयोग गरेको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय जनता र भारत सरकारकोतर्फबाट राहत सामाग्री हस्तान्तरण गरे ।

भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूलाई भारतीय जनता र भारत सरकारको तर्फबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणले बताएका छन् । नेपाल बाढी, पहिरो, डुवानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले प्राकृतिक प्रकोपबाट बच्न भारतले नेपाललाई सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।