एक हजार विद्यार्थीलाई चीन फर्काइँदै

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

एक हजार विद्यार्थीलाई चीन फर्काइँदै

काठमाडौँ ।कोरोना महामारीका बेला पढाइ छाडेर आएका विद्यार्थीलाई चीन फर्काउन शिक्षा मन्त्रालयले करिब एक हजार जनाको सूची परराष्ट्र मन्त्रालयमा पठाएको छ । सन् २०१६ को ब्याचपछिका विद्यार्थीलाई मात्रै फर्काउने चीन सरकारको निर्णयअनुसार शिक्षा मन्त्रालयले सूची तयार गरेको हो । सन् २०१६ र त्यसअघिका विद्यार्थीले भने स्वेदशमै इन्टर्नसिपसहितको पढाइ पूरा गर्न पाउनेछन् ।


शिक्षा मन्त्रालयका अनुसार पहिलो चरणमा सन् २०१७ र २०१८ का २ सय ८१ विद्यार्थी चीन फर्कने प्रक्रियामा छन् । मन्त्रिपरिषद् बैठकले गत पुसमा सन् २०१६ यताका विद्यार्थीलाई पनि नेपालमै इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा मेडिकल काउन्सिलले बाँकी रहेको पढाइ र प्रयोगात्मक अभ्यास यहीं गर्न पाउने व्यवस्था गरेको हो ।


काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीका अनुसार २०१६ ब्याचका विद्यार्थीले एक वर्ष सैद्धान्तिक पढाइसहित दुई वर्ष इन्टर्नसिप गर्नुपर्ने निर्णय भएको छ । यस्तै २०१५ का विद्यार्थीले डेढ वर्ष र २०१४ का विद्यार्थीले ६ महिना इन्टर्नसिप गर्नुपर्ने छ । काउन्सिलले ती विद्यार्थीलाई स्वास्थ्य मन्त्रालयले पठनपाठन र प्रयोगात्मक अभ्यासको व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। समीर अधिकारीले यहीं इन्टर्नसिप गर्न चाहने विद्यार्थीका लागि सूचना प्रकाशन गरेर आवेदन मागिने जनाए । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका बेला परराष्ट्र मन्त्रालय र भ्रमण टोलीबीच विद्यार्थीको समस्या प्राथमिकताका आधारमा समाधान गर्ने सम्झौता गरिएको थियो ।