प्रधामन्त्री देउवाविरुद्ध चुनाव लड्न कस्सिएका सागर भन्छन्, ‘डडेल्धुराबाट जित्छु, प्रधानमन्त्री हुन्छु

२ बर्ष अघि

२0७९ श्रावण १४ शनिबार

प्रधामन्त्री देउवाविरुद्ध चुनाव लड्न कस्सिएका सागर भन्छन्, ‘डडेल्धुराबाट जित्छु, प्रधानमन्त्री हुन्छु

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै गृहजिल्लामा चुनाव लड्न कस्सिएका सागर ढकालले आफूले जित्ने दाबी गरेका छन्। शुक्रबार दिनेशखबरसँग संक्षिप्त कुराकानी गर्दै ढकालले डडेल्धुराबाट चुनाव लडेर देउवासँग जित्ने दाबी गरेका हुन्। 


आफू डडेल्धुरा पुगेर चुनावी तयारीको अभियानमा खटिएको बताउँदै उनले जिल्लामा छलफल र भेटघाट बढाएको बताए। उनले भने, ‘डडेल्धुराका युवाहरु सबैजना आर्कषित हुनुहुन्छ। मैले जहाँ पनि जोलाई पनि भेट्छु, सबै जनाले भोट तपाइलाई नै हो भन्नुहुन्छ। सोचेभन्दा एकदम राम्रोसँग चुनावी अभियान चलिरहेको छ। युवाहरुले सपोर्ट गरिरहेका छन्। यहाँका सबै नागरिकलाई हामीले बुझाएर अभियान सफल पार्नुपर्ने छ।’ डडेल्धुराले देशलाई नै सन्देश दिनेगरि आफूले जित्नुपर्ने र जितेर देशको प्रधानमन्त्री समेत हुनसक्ने उनको भनाइ छ। 


यस्तै देउवासँग चुनाव लड्न कत्तिको चुनौती छ रु भन्ने प्रश्नमा उनले चुनौती भए पनि मिहेनत आवश्यक रहेको बताए। उनी भन्छन्, ‘चुनौती छ। चुनौतीसँग लड्न मेहनत आवश्यक पर्छ। म यसका लागि तयार छु। हामी प्लान बनाएर जानुपर्छ। मलाई आफै थाहा थियो गाह्रो छ भनेर तर मैले जानेर नै चुज गरेको हुँ।’ उनले आफू पुलचोक क्याम्पसबाट अक्सफोर्ड जान पनि असम्भवै भएको तर, मेहनतले सम्भव भएको बताए। देउवाबाट यहाँका नागरिक निराश भएको बताउँदै असम्भव कुरालाई सम्भव बनाउने आफूमा आँट भएको उनको भनाइ छ।