काठमाडौं–बुटवल कल सेन्टरको कनेक्सन नेपालीको नाममा दर्ता, चिनियाँको लगानी

२ बर्ष अघि

२0७९ श्रावण १३ शुक्रबार

काठमाडौं–बुटवल कल सेन्टरको कनेक्सन नेपालीको नाममा दर्ता, चिनियाँको लगानी

काठमाडौ ।  प्रहरीले केही दिन यता विभिन्न स्थानमा छापा मारेका कल सेन्टर एक अर्कासँग सम्बन्धित देखिएका छन् । कल सेन्टरको आवरणमा भारतका विभिन्न सहरमा एप्स मार्फत ऋण लगानी गरेर चर्को ब्याज असुलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र रुपन्देही प्रहरीले हालै ३ वटा कल सेन्टरमा छापा मारेको छ ।

काठमाडौं महानगरपालिका–९ गैरीगाउँ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगर र काठमाडौं–२६ ज्याठास्थित भियना होटल भएको घरमा सञ्चालित कल सेन्टरको बिचमा कनेक्सन देखिएको प्रहरीको भनाइ छ ।

गैरीगाउँ र तिलोत्तमाको कल सेन्टर नेपालीको नाममा दर्ता छ । दुवै कल सेन्टर ठमेलबाट चिनियाँ नागरिकको निर्देशनमा चलिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

गैरीगाउँमा सञ्चालित कल सेन्टर काठमाडौं महानगरपालिका–३ घर भएका विजय श्रेष्ठ, रोल्पाको थवाङ– ६ घर भएका सुविन्द्र रोका मगर र सिन्धुपाल्चोकको भोटेकोशी घर भएका पासाङ शेर्पाको नाममा दर्ता छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको रेकर्डअनुसार बुटवलको कल सेन्टर विजय श्रेष्ठ र सुविन्द्र रोका मगरको नाममा दर्ता भएको भेटिएको छ ।