नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न

२ बर्ष अघि

२0७९ श्रावण १३ शुक्रबार

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न

काठमाडौं । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् ।

धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाएपनि उचित पारिश्रमिक नपाउने कारणले नेपालीहरु दैनिक भारत जान बाध्य भएका हुन् ।

नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ । पहाडी भेगमा काम पाएपनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेरबहादुर शाहीले बताउनुभयो । उहाँले आफ्नो गाँउ भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताउनु भयो ।

पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् ।

सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमिकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन् । नेपालमा काम गरेअनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरुका लागि पीडाको विषय बनेको छ ।

अधिकांश रोजगारीका लागि भारत पलायन भएका नेपालीले स्वदेशमै गरेको कामको पनि उचित पारिश्रमिक नपाएकै कारण भारत कामका लागि जाने गरेको उनीहरु बताउँछन् ।