नेपाल र भारतबीच भएको जीटूजी सम्झौता अनुसार रासायनिक मल आउने निश्चित

२ बर्ष अघि

२0७९ श्रावण १२ बिहीबार

नेपाल र भारतबीच भएको जीटूजी सम्झौता अनुसार रासायनिक मल आउने निश्चित

काठमाण्डौ । नेपाल र भारतबीच भएको जीटूजी सरकारदेखि सरकार सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ । गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको  माध्यमबाट  मल  खरिद  गर्ने  सम्झौता  भएको थियो ।

सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि  सरकारले  तत्काल पैसाको व्यवस्था गर्नुपर्ने कृषि  सामग्री  कम्पनी  लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ ।

भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको छ । भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने सम्झौता गरेको छ । भारतले  आफूले खरिद गरेको मल नेपाललाई  दिने प्रमुख  कार्कीले जानकारी दिनुभयो ।

नेपाल  र  भारतबीच  पाँच  वर्षका  लागि  रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार पहिलो वर्ष १ लाख ५० हजार मेट्रिक टन दिने र त्यसपछि हरेक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सहमति भएको हो ।

देशभर झन्डै ८०  प्रतिशत रोपाइँ सकिएपछि बल्ल मल आउने सुनिश्चित भएको छ । यो मल गहुँ बालीका लागि मात्रै आउनेछ । एक लाख मेट्रिक टनका लागि गरिएको ग्लोबल टेन्डरमध्ये ३० लाख मेट्रिक टन कोलकाता बन्दरगाहमा आइपुगेको र १र२ दिनभित्रै नेपाल भित्रिन सुरु हुने पनि सरकारले जनाएको छ।