धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु

२ बर्ष अघि

२0७९ श्रावण ९ सोमबार

धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु

धनगढी । कैलालीस्थित धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु भएको छ। विमानस्थलमा कार पार्किङ्ग र पहुँच मार्ग निर्माणका लागि २०७९ जेठ ४ गते नेपाल नागरिक उड्यन प्राधिकरण र जे एण्ड जी निर्माण सेवा, धनगढीबीच सम्झौता भएको थियो। एक करोड १८ लाख ८९ हजार नौ सय ४७ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको समय अवधि एक वर्षको छ।


धनगढी विमानस्थलमा कार पार्किङ र प्रतिकूल मौसममा जहाज अवतरणका लागि आवश्यक भिओआरडिएमई उपकरण जडान र पहुँचमार्ग निर्माणको काम भने सुरु भएको छैन। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले उक्त योजना निर्माणको ठेक्का पाएको निर्माण व्यवसायी सम्पर्कमा आएको बताए। उनले भने, ‘पाकिङ्ग र पहुँच मार्गको काम सुरु भएको छैन। बाँकी काम सुरु भएको छ।’ यस्तै नेपाल नागरिक उड्यन प्राधिकरण र इन्द्र–धनु अछाम निर्माण सेवा टीकापुर, कैलालीबीच २०७९ जेठ १६ गते सम्झौता भएको चमेनागृह, वाटर फाउन्टेन, ट्रमिनल भवन सुधार र प्रवेशद्धवार निर्माणको काम भने थालिएको छ।


एक करोड ९५ लाख ७८ हजार तीन सय ६७ रुपैयाँको उक्त योजनाको काम निर्माण कम्पनीले सुरु गरेको हो। एक वर्षमा निर्माण कम्पनीले भौतिक संरचना निर्माणको काम पूरा हुने आयोजना प्रमुख रन्तबहादुर श्रेष्ठले बताएका छन्। धनगढी विमानस्थलको स्तरोन्नति अन्तर्गत टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन, गेट निर्माण तथा कार पार्किङ स्थल र पहुँचमार्ग निर्माण हुनेछ। संरचना निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक स्रोतबाट रकम विनियोजन गरेको हो।


धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने माग उठे पनि जग्गा अधिग्रहणको काम भने अगाडि बढेको छैन। विमानस्थल विस्तारका लागि थप २ सय ५८ विघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ।