दार्चुलाका ११ विद्यालयमा हात्तीपाईले रोगको पोष्ट परीक्षण गरिने 

६ बर्ष अघि

२0७५ आश्विन २ मंगलवार

दार्चुलाका ११ विद्यालयमा हात्तीपाईले रोगको पोष्ट परीक्षण गरिने 

दृष्टीकोण समाचार, असोज २ दार्चुला । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत दार्चुला जिल्लाका ११ वडा विद्यालयहरुमा रोग परिक्षण गरिने भएको छ । जिल्ला नजस्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको एक दिने जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो । 
विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वबाट हात्ती पाईले रोग उन्मुलन गर्नका लागि सुरु गरेको कार्यक्रम अनुसार सन् २००१ बाट नेपालमा हात्ती पाईले रोग नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । सन् २०१३ बाट दार्चुला जिल्लामा लागु भएको हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत अहिले ६ बर्षसम्म हात्तीपाइले रोगको औषधि खुवाइएको छ । दार्चुला जिल्लामा सुरुमा हात्ती पाईले रोगको परिक्षण गर्दाको बखतमा ३ जनामा यो रोगको लक्षण देखा परेको थियो । त्यसपछि लगातार ६ बर्षसम्म हात्तीपाइले रोगको निःशुल्क औषधी वितरण गरिएपछि अन्तिम चरणमा रोग सर्ने अवस्थाको परिक्षण गरिन लागेको जिल्ला जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
दार्चुला जिल्लामा पाँचौ चरणमा रोगको पुर्व परिक्षण गर्दा दार्चुला जिल्लामा कुनै पनि संकेत नदेखिएपछि छैटौँ पटक फेरी रोगको परीक्षण गरिन लागेको हो । यसपटक दार्चुला जिल्लाका ११ वटा विद्यालयहरुमा सेम्पल टेष्ट गरिने छ । यदि २० प्रतिशत भन्दा कम रिजल्ट आएपछि औषधी खुवाउने अभियान बन्द हुने र त्यो भन्दा बढीमा रोगको लक्षण देखा परेमा पुनः औषधी चालु गरिने छ । 
दार्चुला, बैतडी र बझाङ जिल्लामा एकै पटक गरिने उक्त परीक्षणका लागि तेश्रो पक्षसँग नेपाल सरकारले सम्झौता गरि काम समेत शुरु भईसकेको जानकारी गराईएको छ । दार्चुला जिल्लाका एघार विद्यालयहरुमा लेकम गाउँपालिकाको तमैराज आधारभूत विद्यालय बुढाकोट र केदारनाथ आधारभूत विद्यालय रतौडा रहेका छन् । त्यसैगरी मालिकार्जुन गाउँपालिका अन्तरगत मालिकार्जुन आधारभूत विद्यालय कुचाकोट, महाकाली नगरपालिकाको भवानी आधारभूत विद्यालय कोटधार र मालिकार्जुन आधारभूत विद्यालय झस्कु, त्यस्तै शैल्यशिखर नगरपालिका अन्तरगत धर्मदेबजगन्नाथ आधारभूत विद्यालय माम्च र मालिकार्जुन आधारभूत विद्यालय थला रहेका छन् । त्यस्तै अपिहिमाल गाउँपालिका अन्तरगत गौरीशंकर आधारभूत विद्यालय मज्जे, नौगाड गाँउपालिका अन्तरगत दिप आधारभूत विद्यालय चौरीबगड र सिद्धनाथ आधारभूत विद्यालय पारीमेला र व्याँस गाउँपालिकाको ब्रहम बोर्डिङ स्कुल हुतीमा अध्ययनरत कक्षा १ र २ का २ सय ४० जनको रगत परीक्षण गरिने छ । 
दार्चुला जिल्ला हात्तीपाइले रोग निवारणका लागि सञ्चालित औषधी सेवन कार्यक्रममा छ पटक सम्म ७० प्रतिशत भन्दा माथीको जनसंख्याले औषधी सेवन गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका निमित्त प्रमुख शिबराज सुनारले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रममा सुरक्षा निकायका प्रमुख शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा श्रोतव्यक्तिहरुको सहभागिता रहेको थियो । हात्ती पाईले रोग क्युलेक्स वा एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट  हुने फाइलेरिया नामक परजीबीबाट सर्ने  गर्दछ । योे रोग लागेपछि सुरुमा लक्षण नदेखिए पनि पछिल्लो समय हात खुट्टा हात्तीको जस्तै मोटो भएर सुन्नीने किसिमको लक्षण देखा पर्दछ ।