चीनले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

२ बर्ष अघि

२0७९ श्रावण ३ मंगलवार

चीनले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं– चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।


हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशबीच समन्वय नगरी तारबार लगाएको समाचारलाई लिएर राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठको ध्यानाकर्षण समेत गराएको छ ।

‘अन्तर्राष्ट्रिय कानून र मूल्य मान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती हो ।’ अध्यक्ष यादवले ज्ञापनपत्रमा भनेका छन्, ‘चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुने प्रहारको जति निन्दा गरे कम हुन्छ ।’

हालको सरकार गठन भएको सुरुआती अवस्थामा नै नेपाल–चीन सीमामा हुने अतिक्रमणहरूविरुद्ध चालिएको कदमहरू प्रशंसनीय रहेको यादवको भनाइ छ ।

सरकारको सुरूआती कदमहरूले राष्ट्रवादी जनता उत्साहित भएपनि सरकारले गरेका कूटनीतिक प्रयासहरूको बावजुद पनि सीमा अतिक्रमण जारी हुनु दुःखद रहेको अभियानको ज्ञापनपत्रमा उल्लेख छ ।

सरकारबाट सीमा रक्षाका लागि गरिएको प्रयासहरूवाट अपेक्षित परिणाम हासिल हुनसक्दा नेपाली जनता पुनः दुखित र अधैर्य भएको अभियानले ज्ञापनपत्रमा जनाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हामी यस सरकारबाट सीमा अतिक्रमणबारे निर्णायक र कठोर कदम चालिने अपेक्षा राख्दै सरकारका हरेक कदमहरुमा अभियानको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाउन यो ज्ञापनपत्र बुझाइएको अवगत गराउन चाहन्छौं ।’