यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन

२ बर्ष अघि

२0७९ श्रावण २ सोमबार

यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन

दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा सङ्कलन भएको हो ।

जिल्लाबाट यस वर्ष असारसम्म ७ सय २२ किलोग्राम यार्सागुम्बाको छोडपुर्जी जारी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो ३० हजार रुपैयाँका दरले कुल २ करोड १६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिनुभयो । 
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो । यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३र७४ मा ६ सय ६९ किलो, २०७४–७५ मा ७ सय ६४ किलो, २०७५७६ मा ५ सय ४५ किलो, २०७६–७७ मा ३ सय २७ किलो र २०७७—७८ मा ३ सय ५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय जनाएको छ ।