भारतीय प्रहरीद्वारा रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

२ बर्ष अघि

२0७९ असार २८ मंगलवार

भारतीय प्रहरीद्वारा रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

वीरगञ्ज, । नेपालबाट भारतको दिल्ली तर्फ जाँदै गरेकी दुई युवतीको उद्दार गरिएको छ । भारतीय प्रहरीले उनीहरुको शुक्रबार राती नेपाल र भारतको सिमावर्ती शहर रक्सौलको रेल्वे स्टेशनबाट उद्दार गरेको हो ।

भारतीय प्रहरीको एन्टी ह्युमन ट्राफीकिङ् यूनिटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मनोज कुमारको नेतृत्वमा खटेको टोलीले युवतीहरुलाई उद्दार गरेर नेपालस्थित माइती नेपाल संस्थाको जिम्मा लगाएको छ ।

युवतीहरुलाई गएराती इन्स्पेक्टर मनोज शर्माको टोलीले रक्सौलस्थित रामजी चोकबाट उद्दार गरेको जनाईएको छ । भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार युवतीहरुलाई केही प्रलोभन देखाएर ट्रेन चढी भारतको दिल्ली पुग्ने निर्देशन दिइएको थियो । 

त्यसकोलागी युवतीहरु तिन दिन अगाडि काठमाडौँस्थित आफ्नो घरबाट केही पैसा र गहना चोरी गरेर भारतको लागि हिडेका थिए । युवतीहरु हराएको भन्दै अभिभावकले नेपाल प्रहरीलाई जानकारी समेत गराएका थिए । त्यसैक्रममा अभिभावकले सामाजिक सञ्जाल मार्फत इन्स्पेक्टर मनोज कुमारको सम्पर्क नम्बर पता लगाएर उनलाई पनि बालिकाहरुको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका थिए ।  

इन्स्पेक्टर मनोज कुमारले युवतीका अभिभावकसँग तस्विरसहितको जानकारी माग गरेर उनीहरुको खोजीका लागि एउटा विशेष टोलीनै खटाएका थिए । सोही क्रममा युवतीहरुलाई गएराति १२ बजेको करिबमा ट्रेन स्टेशनबाट उद्दार गरिएको इन्स्पेक्टर मनोज कुमारले बताए ।

युवतीहरुलाई उद्दार गरेर माइती नेपाललाई आज बिहान जिम्मा लगाइएको छ । उनीहरुलाई प्रलोभन देखाएर भारत बोलाउने व्यक्तिको समेत जानकारी लिएर उसको खोजी सुरु गरिएको मनोजले जानकारी दिए ।