युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो

राष्ट्रियताको बहसमा युग पाठकले अत्यन्त संवेदना र साहानुभूति साथ २५०–३०० वर्षमा राष्ट्रियताका नाममा सीमान्कृत बनाइएका समूहप्रति आफ्ना भावना व्यक्त गर्नुभएको छ । यसले के बताउँछ भने आज पनि नेपालमा राष्ट्रियताको कुरा, व्याख्या भइरहेको छ । राष्ट्रियताको यो विमर्श तात्विक रुपमा त्यहीँ छ, जसको प्रथम भाष्य दार्जिलिङमा निर्माण गरिएको थियो । जसका मुलकर्ता सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पासरमणी थिए ।


लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री हुँदा यसलाई चर्काएका थिए । देवकोटाले, कसैले हिन्दीमा बोल्न खोज्दा ए हिन्दीमा बोल्ने भनेर आफू अङ्ग्रेजीमा बोलेका थिए । जसलाई राजा महेन्द्रले सहर्ष स्विकारेका थिए । महेन्द्रले पुस १ गते बीपी कोइरालालाई अपदस्त गर्दा बीपीले राष्ट्रियतामाथि खलल पुर्यायो भनेका थिए, जुन राष्ट्रियता प्रकारान्तरले आजसम्म पनि कुनै न कुनै रूपमा चलिरहेको छ । 


उहाँले यसमा स्पष्ट भन्नुभएको छ, तर धेरै भन्नु भएको छैन । त्यसको के कारण होला भने आज पनि राजनीतिक नेतृत्वमा करिब करिब त्यही वर्ग, जाति लिङ्गका मान्छे हावी छन् र अहिले पनि महिला, दलित, मधेसी, जनजाति बहिष्कृत छन् । यद्यपि संसदमा प्रतिनिधित्व भएको त्यो राम्रो भएको छ । 


राष्ट्रियताको सन्दर्भमा प्रजातन्त्र र राजाबीचको लडाइँ बडो महत्वपूर्ण छ । तपाईंहरुलाई थाहानै छ, पुस १ गते राजा महेन्द्रले तानाशाही कायम गरेदेखि नेपालमा प्रजातन्त्र स्थापित हुनुपर्छ अथवा नेपालमा जनवादी शासन स्थापित हुनुपर्छ भनेर काङ्ग्रेस र कम्युनिस्टले लडाइँ सुरु गरे । त्यसपछि झण्डै तीस वर्ष लडाइँ रह्यो । यसका साँची हामी र हाम्रो पुस्ता हो । हामी जेल पनि गयौँ र निर्वासनमा पनि गयौँ ।