श्रीलङ्काका राष्ट्रपति राजपाक्षेद्वारा राजीनामा दिने घोषणा स् प्रदर्शनकारी खुसीयाली मनाउँदै

२ बर्ष अघि

२0७९ असार २६ आईतवार

श्रीलङ्काका राष्ट्रपति राजपाक्षेद्वारा राजीनामा दिने घोषणा स् प्रदर्शनकारी खुसीयाली मनाउँदै

एजेन्सी ,। श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेले राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारीले खुसीयाली मनाएका छन् । राजीनामा दिने राष्ट्रपतिको घोषणापछि सहरमा खुसीयालीसहित आतसबाजी गरिएको छ । उहाँले आउँदो बुधवार राजीनामा दिने जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्गे यसअघि नै राजीनामा दिन सहमत हुनुभएको थियो । हिजो ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारी राजपाक्षेको निवासमा पुगेरै राजीनामा माग गरेका थिए । हिजोको घटनालगत्तै अमेरिकाले श्रीलङ्काली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनअघि नै राष्ट्रपति राजपाक्षेले निवास छोड्नुभएको थियो । अमेरिकाले प्रदर्शनकारीमाथि कुनै पनि आक्रमण नगर्न पनि अनुरोध गरेको छ । श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ । दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो ।

विदेशी मुद्राको सञ्चिति रित्तिएपछि पेट्रोल र डिजल बेच्न रोकिएको छ । मानिसहरू इन्धनका लागि कयौँ दिनसम्म लाइन लाग्न बाध्य छन् । महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छुटजस्ता कारणहरूले गर्दा श्रीलङ्काको अर्थतन्त्र सङ्कटमा परेको देखिन्छ ।