दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह

२ बर्ष अघि

२0७९ असार २५ शनिबार

दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह

दार्चुला । दार्चुलामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पताल दार्चुलामा मात्रै एक वर्षको अवधिमा ३ सय ५ जनामा स्क्रबटाइफसको सङ्क्रमण फेला परेको छ । पछिल्लो केही महिनायता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिने गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।  विगतका वर्षमा स्क्रब टाइफसका बिरामी फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष  बिरामीको सङ्ख्या ह्वात्तै बढेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।  गत साउनदेखि हालसम्म दार्चुलामा ३ सय ५ जनामा सङ्क्रमण भेटिएको तथ्याङ्क भए पनि अझै कतिपय बिरामी परीक्षणको पहुँच बाहिर हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।  वर्षातको समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि बढी देखिने गरेको जिल्ला दार्चुला अस्पतालका डा. आदर्श लिम्बूले बताए । चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रब टाइफसको जोखिममा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, हाडजोर्नि दुख्ने, खाना मन नलाग्ने, थकान लाग्ने, लक्ष्यण देखा पर्ने डाक्टरहरुले बताएका छन् ।