नेपाल भारततिर ढल्किनैपर्छ भारतीय सेनापतिकाे  विचार

६ बर्ष अघि

२0७५ आश्विन १ सोमबार

 नेपाल भारततिर ढल्किनैपर्छ भारतीय सेनापतिकाे  विचार

 

दृष्टीकाेण समाचार, असाेज १ काठमाडौं । बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा भारतीय सेनाको असन्तुष्टि सार्वजनिक भएको छ । यो सैन्य अभ्यास पुनेमा सम्पन्न भएको छ । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय लिएको थियो । समापन कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै भारतीय सेनापति विपीन रावतले नेपालमाथि कटाक्ष गरे ।

नेपालले चीनसँग झुकाव राख्न खोजेको आशयसहित उनले यो अस्थायी हुने टिप्पणी गरे । नेपालको चीनसँग बढ्दो निकटताका विषयमा पत्रकारले प्रश्न गर्दा सेनापति रावतले भनेका छन्, भौगोलिक कारणले नेपाल र भुटानजस्ता राष्ट्रहरु भारततिर ढल्किनै पर्छ । जहाँसम्म चीनसँगको निकटताको कुरा छ, यो अस्थायी हो ।

उनले पाकिस्तान र अमेरिकाको सम्वन्धको उदाहरण दिए । भारतीय सेनापति रावतले नेपालले चीनसँग आर्थिक सहयोग लिएको विषयमा पनि टिप्पणी गरे । चीनसँग पैसा छ र उनीहरु त्यसलाई लगानी गर्न चाहन्छन् उनले भने, आज उनीहरुसँग आर्थिक सहयोग लिएका राष्ट्रले भोलि महसुस गर्नेछन् कि कुनै पनि कुरा सित्तैमा पाइँदैन ।

अर्थ राज्यमन्त्री सुभाष भाम्रेले नेपालले संयुक्त सैन्य अभ्यासमा भाग नलिएको विषयमा प्रष्ट पार्दै भने, ‘संयुक्त अभ्यासको ठीक अगाडि मात्र नेपालको सैन्य कमान्ड परिवर्तन भयो । यद्यपि, नेपालले पर्यवेक्षक पठाएको छ । हामीले कुनै किसिमको अड्कलवाजीगर्नुहुँदैन ।’
सैन्य अभ्यासमा बिमस्टेक राष्ट्रहरु बंगलादेश, भुटान, म्यानमार र श्रीलंकाका सेना सहभागी भए ।

नेपाल र थाइल्यान्डले पर्यवेक्षक मात्र पठाए । संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विषयमा देशभित्र सरकारको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय लिएका थिए ।