गठबन्धनका नेता निजगढ विमानस्थल बनाउन एकमत

२ बर्ष अघि

२0७९ असार २0 सोमबार

गठबन्धनका नेता निजगढ विमानस्थल बनाउन एकमत

काठमाडौ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको पूर्ण पाठ सार्वजनिक हुँदा पर्यावरणमा न्यूनतम क्षति हुने गरी मात्र निर्माण गर्न सरकारका नाममा निर्देशन जारी भयो । कहाँ विमानस्थल बनाउने भन्नेबारे कुनै नाम सर्वोच्चको वृहत इजलासले नकिटेपछि सत्तापक्ष र प्रतिपक्षका नेताहरुबीच निजगढमै विमानस्थल बन्नुपर्नेमा एकमत छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव एकसाथ निजगढ पुगेर विमानस्थल यसअघि भनेकै स्थानमा बनाउने अभिव्यक्ति दिएका छन । मन्त्री समेत रहेका बाराका सांसद उमाकान्त चौधरी निजगढ विमानस्थल निर्माण रोकिन नहुने भन्दै ज्ञापनपत्र लिएर दौडिएका थिए ।


प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु निजगढ विमानस्थलको पक्षमा बोल्दै आएका थिए । चुनाव नजिकिदै गर्दा बारा, पर्सा, रौतहट, मकवानपुर लगायत आसपासका जिल्लामा राजनीतिक क्षति पुग्ने सत्ता पक्ष र प्रतिपक्षी दुवैलाई थियो । त्यसैले निजगढ विमानस्थलको विषय निकै गिजोलिएको छ ।

निजगढ बनाउन रोकिए अरबौं नोक्शानी हुने नेताहरुको तर्क छ । तर, त्यहाँ २६ लाख रुख काटिंदा राज्यले अहिले खर्च भएको भन्दा ठूलो क्षति व्यहोर्नेछ । यसले वातावरणीय क्षति ठूलै पुग्नेछ । रुख कटानमा पनि ठूलै चलखेल हुँदै आएको छ ।

विमानस्थल बनाउँदा विदेशी ऋण लिने अवस्था आउनेछ । खर्बभन्दा बढी खर्चमा मात्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नसक्छ । देश ऋणको भारले थिचिने अवस्था उत्तिकै छ।

श्रीलंकामा बन्दरगाह निर्माणमा चीनको ऋण लिंदाको परिणाम देखिइरहेको छ । श्रीलंका अहिले टाट पल्टेको छ । त्यहाँ भौतिक विकास त भयो तर त्यो विकास नै सेतो हात्ती सावित भयो । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ । भैरहवामा सेवा सुचारु छ । पोखरामा निकट भविष्यमा हुँदैछ । दुवै विमानस्थल ऋणमा बनाइएको छ । त्यसको भार देशले कहिलेसम्म थेग्ने चासो बनेको छ । निजगढ विमानस्थल काठमाडौं विमानस्थलबाट हवाई दूरीका हिसाबले ६० किलोमिटर नजिक छ । यति छोटो दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ ।


निजगढ गौरवशाली आयोजना त भनिएको छ यसले देशलाई कंगाल बनाउने अवस्था निर्माण गर्ने खतरा उत्तिकै छ । हाम्रा अगाडि श्रीलंका उदाहरण छँदैछ।