नेपालमा चिनियाँ अधिकारीहरुको सक्रियता बढ्दै, ओली–प्रचण्डसँग छलफल

२ बर्ष अघि

२0७९ असार १६ बिहीबार

नेपालमा चिनियाँ अधिकारीहरुको सक्रियता बढ्दै, ओली–प्रचण्डसँग छलफल

नेपालमा चिनियाँ अधिकारीहरुको सक्रियता बढ्दै गएको छ । २०७४ सालदेखि चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी को चहलपहल निकै नै बढेको हो । चिनियाँ अधिकारीहरुकै कारण नेपालमा तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको थियो । सत्ताको रसास्वादनमा डुबेपछि झण्डै दुई तिहाईको दल एकाएक टुक्रियो र पुरानै अवस्थामा पुगे । जसका कारण हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको अवस्था निकै खस्कियो । माओवादीले नेपाली कांग्रेस र सत्ताधारी गठबन्धनसँग चुनावी तालमेल गरेपछि सुधार ल्यायो ।


तर यसरी गठबन्धन आगामी प्रदेश र संघको चुनावमा पनि रहिरहने हो भने नेपालका कम्युनिष्ट दलहरुलाई खतरा हुने अवस्था देखेर चिनियाँ अधिकारीहरु तनावमा छन् । उनीहरुले फेरि नेपालका कम्युनिष्टलाई एक गराउन प्रयास गरिरहेका छन् । वामपन्थी दलहरुबीच एकताको चर्चा भइरहँदा चिनियाँ अधिकारीहरुको सक्रियता नेपालमा बढेको छ । सीपीसीका नवनियुक्त विदेश विभागका प्रमुख लिउ जियानचाओले बिहीबार र शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भिडियो संवाद गरेका छन् ।

लिउले बिहीबार प्रचण्डसँग र शुक्रबार ओलीसँग भर्चुअल माध्यमबाट भिडियो वार्ता गरेका हुन् । नेपालले अमेरिकी सहयोग स्टेट पाटनर्रशिप प्रोग्राम ९एसपीपी० साझेदारीलाई अघि नबढाउने निर्णय गरेपछि चीनले खुलेर प्रशंसा गरेको छ । त्यसलगत्तै लिउले ओली र प्रचण्डसँग छलफल गरेका हुन् ।

तर लिउसँगको वार्ताबारे नेताहरुले खुलेर केही भन्न सकिरहेका छैनन् । शुक्रबार बेलुकी सीपीसीको विदेश विभागले संवादको विषयमा जानकारी दिएको थियो । संवादमा लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएको मित्रवत् छिमेकीका साथै साझा भविष्यका विकास साझेदार भएको बताएका थिए ।

स्रोतका अनुसार एमाले र माओवादीका अध्यक्षहरुले भने चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका थिए ।
आगामी कार्तिक वा मंसिरमा चुनाव हुँदै गर्दा दुवै दललाई फेरि एकता गरेर जानका लागि सीपीसीले दबाब दिइरहेको छ । एमाले र माओवादीका दोस्रो तहका नेताहरु पार्टी एकता तत्काल सम्भव नभए चुनावी एकता भए पनि गरेर जानुपर्ने भन्दै आन्तरिक छलफलमा लागिरहेका छन् ।