प्रधानसेनापति शर्मा औपचारिक भ्रमणका लागि लेबनान प्रस्थान, असार १३ गते अमेरिका जाने

२ बर्ष अघि

२0७९ असार ४ शनिबार

प्रधानसेनापति शर्मा औपचारिक भ्रमणका लागि लेबनान प्रस्थान, असार १३ गते अमेरिका जाने

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज शनिवार लेबनान प्रस्थान गर्नुभएको छ । द्वन्द्पग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन तथा विभिन्न यूएन मिसनको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ शर्मा रक्षा सचिवसहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गरी लेबनान प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको थियो ।    

प्रधानसेनापति महारथी शर्मा लगायतको भ्रमण दलले असार १० गतेसम्म संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनानको युनिफिल मिसन र त्यसपछि सिरियाको यूएनडीओफ मिसनको निरीक्षण भ्रमण गरी जानकारी लिनेछ । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेबनान, सिरिया, युनिफिल मिसन र यूएनडीओफका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ । उहाँलाई आज नेपालका मानार्थ महावाणिज्यदूत तथा लेबनानका सरकारी अधिकारीहरूले स्वागत गर्नु हुनेछ । त्यसपछि लेबनानी सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

लेबनान प्रस्थान गर्नुअघि प्रधानसेनापति शर्मालाई हिजो शुक्रवार जङ्गी अड्डानमा सम्मानगारत अर्पण गरिएको थियो । त्यस भ्रमणपछि प्रधानसेनापति शर्माले असार १३ संयुक्त राज्य अमेरिकाकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मालगायतको टोली असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।