काडमाडौ । जनसांख्यिक रूपले संसारको सबैभन्दा ठूलो देश अहिले संकुचननजिक छ । विश्वको करिब १७ प्रतिशत मानिस चीनमा बस्छन् । चार दशकमा चीनको जनसंख्या ६६ करोडबाट बढेर एक अर्ब ४० करोड पुगेको तथ्यका बाबजुद सन् १९५९–१९६१ को ठूलो महामारीपछि पहिलोपटक चीनको जनसंख्या यस वर्ष घट्ने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक ब्युरोको पछिल्लो तथ्यांकअनुसार चीनको जनसंख्या सन् २०२१ मा एक अर्ब ४१ करोड २१ लाख २० हजारबाट एक अर्ब ४१ करोड २६ लाख पुगेको छ, अर्थात् चार लाख ८० हजारको अत्यन्त न्यून वृद्धि भएको छ, जुन एक दशकअघि आठ करोड जनसंख्या वृद्धिको सानो अंश मात्र हो ।
केही वर्षयता जन्मदर घटिरहेको थियो । त्यसमा कठोर कोभिड–१९ उपाय अवलम्बन भइरहँदा सन्तान जन्माउने अनिच्छाले जन्मदर थप घटेको हो । सन् १९८० को दशकको उत्तरार्धमा चीनको कुल प्रजनन दर प्रतिमहिला दुई दशमलव ६ थियो, जुन मृत्युदरलाई प्रतिस्थापन गर्न आवश्यक दुई दशमलव एकभन्दा बढी थियो । सन् १९९४ देखि यो आँकडा एक दशमलव ६ र एक दशमलव सातबीच उतारचढाब भइरहेको छ र सन् २०२० र २०२१ मा यो आँकडा क्रमशः एक दशमलव तीन र एक दशमलव १५ मा झरेको छ । अस्ट्रेलिया र अमेरिकामा भने कुल प्रजनन दर प्रतिमहिला एक दशमलव ६ छ र ज्येष्ठ नागरिक संख्या बढिरहेको जापानमा यो दर एक दशमलव तीन रहेको छ । चीनले सन् २०१६ मा एक सन्तान नीति खारेज गरेको थियो र गत वर्ष कर एवं अन्य प्रोत्साहनसहित तीन सन्तान कार्यक्रम लागू गरेको भए पनि प्रजनन दर न्यून भएको छ ।
गत वर्ष चीनको कुल जनसंख्या भोकमरीपछिको न्यून अर्थात् ०।३४ प्रतिहजार विस्तार भएको थियो । सांघाई एकेडेमी अफ सोसल साइन्सले उपलब्ध गराएको प्रक्षेपणअनुसार यस वर्षको आँकडा ०।४९ हुनेछ । अर्थतन्त्रका लागि आवश्यक जनशक्तिको कमी हुने अवस्था ‘टर्निङ पोइन्ट’ एक दशकअगावै आएको छ । चाइना एकेडेमी अफ सोसल साइन्सेजले सन् २०२९ मा जनसंख्या एक अर्ब ४४ करोड पुग्ने प्रक्षेपण गरेको थियो । सन् २०१९ का लागि राष्ट्र संघ जनसंख्या सम्भाव्यता प्रतिवेदनले सन् २०३१–३२ मा एक अर्ब ४६ करोड जनसंख्या हुने अनुमान गरेको थियो ।
सन् २०२१ पछि सांघाई एकेडेमी अफ सोसल साइन्सेजले १।१ प्रतिशत वार्षिक कटौतीको अपेक्षा गरेको छ, जसले सन् २१०० मा चीनको जनसंख्या ५८ करोड ७० लाखमा झर्नेछ, जुन अहिलेको जनसंख्याको आधाभन्दा कम संख्या हो । यो तीव्र गिरावटले चीनको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ ।सन् २०१४ मा चीनमा काम गर्न सक्षम उमेरका जनसंख्या अत्यधिक थियो र सन् २१०० सम्ममा यो संख्या सन् २०१४ को एकतिहाइभन्दा कम हुने अपेक्षा गरिएको छ । चीनको ज्येष्ठ जनसंख्या ९६५ वर्ष र माथिका० बढ्दै जाने अनुमान गरिएको छ र अन्ततः सन् २०८० को आसपासमा चीनका काम गर्न सक्षम उमेरको जनसंख्यालाई उछिन्नेछ । अर्थात् आज हरेक २० जना ज्येष्ठ चिनियाँलाई टेवा दिने सयजना काम गर्न सक्षम उमेरका चिनियाँ भए पनि सन् २१०० सम्ममा सयजना काम गर्न सक्षम उमेरका चिनियाँले एक सय २० जना ज्येष्ठ चिनियाँलाई टेवा दिन आवश्यक हुनेछ ।
यसबीच चीनले आफ्नो उत्पादनशील स्रोत स्वास्थ्य, चिकित्सा र वृद्धवृद्धाको हेरचाह सेवामा समर्पित गर्न बाध्य हुनेछ । भिक्टोरिया विश्वविद्यालयको नीति अध्ययन केन्द्रका अनुसार यदि चीनको पेन्सन प्रणाली अपरिवर्तित रहन्छ भने कुल ग्रार्हस्थ उत्पादनको चार प्रतिशत रहेको सन् २०२० को निवृत्तिभरण भुक्तानी सन् २१०० मा २० प्रतिशतमा अकासिनेछ । यी परिवर्तनले अस्ट्रेलियाजस्ता स्रोत–निर्यात गर्ने राष्ट्रका लागि चीनबाहिर निर्यातको पुनः अभिमुखीकरण आवश्यक पर्ने सम्भावना देखाउँछ । ‘अबको शताब्दी चिनियाँ शताब्दी’ भन्ने भविष्यवाणीका बाबजुद यी जनसंख्या अनुमानले जनसंख्यामा आउँदो दशकमा चीनलाई उछिन्ने अपेक्षा गरिएको भारतमा सर्ने देखिन्छ ।