सेनाको दाबी – एसपीपीबारे कुनै मस्यौदा जंगी अड्डामा आएको छैन

२ बर्ष अघि

२0७९ जेष्ठ ३१ मंगलवार

सेनाको दाबी – एसपीपीबारे कुनै मस्यौदा जंगी अड्डामा आएको छैन

काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौताबारे नेपाली सेनाले अनभिज्ञता जनाएको छ । एसपीपी सम्झौता सम्बन्धी कुनैपनि औपचारिक र अनौपचारीक मस्यौदा सेनालाई प्राप्त नभएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले रातोपाटीलाई बताए । ‘अफिसियल अनअफिसियल यस किसिमको मस्यौदा सेनालाई प्राप्त भएको छैन’, उनको दाबी छ, ‘जसरी संचारमध्यममा आएको छ त्यो सर्वथा गलत हो ।’

नेपालको उच्च भूभागमा संयुक्त सैन्य अभ्यास, नेपाली सेनाका अधिकृतहरुका लागि संयुक्त राज्यमा  फेलोसिप कार्यक्रम र अमेरिकी  नेशनल गार्डका अधिकृतहरुलाई नेपालको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा फेलोसिप कार्यक्रम जस्ता विषय समेटिएको सम्झौताबारे सैनिक प्रवक्ताले थाहा नभएको दाबी गरे । उनले भने, ‘कुन स्रोतबाट कुन नियतले कसले यसबारे प्रचार गरेका हुन्, त्यो उनीहरुलाई नै थाहा होला ।’