पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ, प्लेटोको ‘एलगोरी अफ केभ’ जसमा गुफाको कथा छ । मलाई सम्झना भैरहन्छ । म आफ्नो कुरा त्यो कथाबाट सुरु गर्न चाहन्छु । कथाले के भन्छ भने– एउटा अँध्यारो गुफाभित्र मानिसहरू बसेका छन् । त्यहाँ उज्यालोको कुनै सम्भावना छैन । 

प्लेटोको भनाइ अनुसार त्यस गुफामा मानिसहरू चेनले बाँधिएका छन् । मानिसहरूलाई त्यसरी नै बस्ने बाँनी भएपछि उनीहरूलाई उज्यालोसँग समेत डर लाग्छ । अनि गुफाभित्रको कुनै एक जना मान्छे कसैको उत्प्रेरणाले उज्यालोतिर अघि बढ्छ र उज्यालोमा पुग्छ । उज्यालोमा पुग्नु उसका लागि सहज थिएन । उसका आँखा तिर्मिराए । उसले राम्रोसँग प्रकृतिलाई हेर्न सकेन किनभने उसका आँखा अँध्यारोका लागि अभ्यस्त भइसकेका थिए । अनेक प्रयास गर्दै उसले आफूलाई उज्यालो हेर्न सक्ने बनायो । 

उज्यालो संसार हेरिसकेको मानिस गुफाका मानिसहरूलाई उज्यालोमा ल्याउन र स्वतन्त्र संसार देखाउन चाहन्थ्यो । जब ऊ गुफामा पुग्यो र त्यहाँका मासिसहरूलाई– हामीहरू अँध्यारो गुफामा बस्दा रहेछौँ, यो भनेको चेनले बाँधिएको अवस्था हो तर बाहिर उज्यालो र स्वतन्त्रता छ । भनेर भन्यो, त्यहाँका मानिसहरूले पत्याएनन् । जबकि त्यो उनीहरूकै बीचको मान्छे थियो । 

यो कथा मैले यहाँ किनभनेको भने म तपाईंहरूमा भोलिको समाज नेतृत्व गर्ने स्वरूप देखिरहेको छु । त्यो अवतार जुन तपाईंहरूको मुहारमा धप्धपी बलिरहेको म महशुस गर्दैछु, म चाहन्छु त्यस्तो सम्भावना बोकेको मान्छे आजै गुफाको प्राणी नहोस् । उसले उज्यालोको सपना देखोस् र स्वतन्त्रतापूर्वक समाजका अघिल्तिर आफ्ना अहम् सवालहरू खडा गरोस् । उसले नयाँ ढङ्गले सोचोस । नयाँ ढङ्गले बोलोस् र नयाँ ढङ्गले चिन्तन गरोस् ।