भारतीय सहयोगमा निर्माण भएको कम्प्यूटर भवन उदघाटन

२ बर्ष अघि

२0७९ जेष्ठ २३ सोमबार

भारतीय सहयोगमा निर्माण भएको कम्प्यूटर भवन उदघाटन

कुश्मा । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्वर १० स्थित पूर्णेश्वर माध्यमिक विद्यालयको हाता भित्र भारतीय सरकारको आर्थिक अनुदानबाट निर्माण भएको कम्प्युटर भवनको एक समारोहका विच उदघाटन गरिएको छ ।
पूर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको अध्ययनमा सहयोगी हुने उद्देश्यको लागि निर्माण गरिएको कम्प्युटर भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उदघाटन गरेका हुन् ।
सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत १ करोड ७५ लाख नेपाली रुपैयाँको लागतमा सो परियोजनाको निर्माण गरिएको छन् ।
उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो ।
२५० जना अध्ययनरत विद्यालयमा विद्यार्थीमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् । भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषतः कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको यस नयाँ पूर्वाधारले गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरुका लागि सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न भईसकेको जनाइएको छ ।