नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध थप उचाइमा ः राजदूत शर्मा

२ बर्ष अघि

२0७९ जेष्ठ २0 शुक्रबार

नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध थप उचाइमा ः राजदूत शर्मा

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले पछिल्ला दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले गरेका भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताएका छन् ।
गत अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ दिल्ली र त्यसको डेढ महिनाको अन्तराल मा मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका थिए । ती दुवै भ्रमणलले ‘रिलेसनसीपलाई इम्प्रुुभ’ गराएको शर्माले बताए ।

भारतीय ‘थिंक ट्यांक’ विवेकानन्द इन्टरनेसनल फाउन्डेसनले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रियामा राजदूत शर्माले आर्थिक र सामाजिक सम्बन्धलाई दुवै देशले महत्व दिनुपर्ने बताए ।


‘प्रधानमन्त्री तहको भ्रमणमा पनि आर्थिक गतिविधिलाई महत्व दिइएको छ,’ उनले भने ‘भारतले यतिबेला विश्वमै सफल राष्ट्रको रुपमा पहिचान बनाएको छ । भारतबाट नेपालले लाभ उठाउने दिशामा काम गर्नुपर्छ। ।’
उनले जनस्तरमा सदियौंदेखि रहेको प्रगाढ सम्बन्ध जुनसुकै परिस्थितिमा पनि कायम रहेको उल्लेख गर्दै नेपाल र भारतको जस्तो सम्बन्ध कुनै पनि देशसँग तुलना गर्न नसकिने उल्लेख गरे ।
कार्यक्रमका सहभागीले नेपालको आर्थिक अवस्था पनि श्रीलंका जस्तो हुन लागेको त होइन भनेर आशंका गरेकोमा राजदूत शर्माले खण्डन गरेका थिए । उनले नेपाल र श्रीलंका को आर्थिक परिस्थिति फरक रहेको भन्दै नेपाललाई श्रीलंकासँग तुलना नगर्न आग्रह गरेका थिए ।
‘धेरै कारणहरु छन्, जसले हाम्रो परिस्थिति श्रीलंका जस्तो नरहेको स्पष्ट पार्न चाहन्छु,’ उनले भने ‘रेमिट्यान्स, पर्यटन क्षेत्र र बिजुलीको निर्यात लगायत प्रयासबाट नेपालको आर्थिक वृद्धिदरले सकारात्मक संकेत दिएको छ ।’
उनले श्रीलंकाको जस्तो व्यापारिक ऋणको भार पनि नेपाललाई नरहेको उल्लेख गरे । चीनसँग बढ्दो सम्बन्धलाई लिएर राखिएको जिज्ञासाप्रति भने राजदूत शर्माले कुनै पनि देशले आफ्नो हित र आवश्यकता हेरेर कुनै अर्को देशसँग सम्बन्ध राख्न सक्ने भएकाले त्यसलाई सोही रुपमा बुझ्न आग्रह गरेका थिए । उनले कुनै तेस्रो देशसँगको सम्पर्कले कुनै पनि छिमेकी मुलुकलाई अहित नुहने विषयमा नेपाल सदैव सचेत रहँदै आएको बताएका थिए ।