काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन् । उनले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको जिकिर गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताए । त्यस्तै देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालकै भएकोमा कुनै दुविधा नरहेको धारणा पनि राखे ।
सीमा सम्बन्धी समस्या वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । प्रधानमन्त्री देउवाले सार्वजनिक संस्थान खारेज वा निजीकरण गर्ने सोच नभएको स्पष्ट पारे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसला अध्ययन गरी आवश्यक निर्णय लिइने समेत बताए ।