मालिकार्जुन गाउँपालिकामा टुहुँरा विपन्न र सहिद परिवारका बालबालिकालाई निर्वाह भत्ता

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

मालिकार्जुन गाउँपालिकामा टुहुँरा विपन्न र सहिद परिवारका बालबालिकालाई निर्वाह भत्ता

दार्चुला । मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुँरा, विपिन्न र सहिद परिवारका बालबालिकालाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मालिकार्जुन गाउँ कार्यपालिकाको पहिलो बैठकले जीवन निर्वाहको लागि मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।  गाउँपालिका अध्यक्ष हिरासिह धामीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले पालिकाभरीका टुहुँरा, विपन्न र सहिद परिवारका बालबालिकाको तथ्याङ्क संकलन गर्ने समेत निर्णय गरेको छ । 

 


गाउँपालिकामा रहेका ८ वटै वडामा प्राविधिक शिक्षा अध्ययन गर्न एक÷एक जनालाई विपन्न व्यक्तिलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ती उपलब्ध गराउने बैठकले निर्णय गरेको अध्यक्ष धामीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका घाइते सहिद परिवारका टुहुँरा बालबालिकालाई परिचय पत्र वितरण गरि जीवन प्रवाह भत्ता दिइने उहाँको भनाई छ  ।  बैठकले न्यूनतम् पारश्रिमकमा काम गर्दै आएका गाउँपालिका भित्रका बालविकास शिक्षक, विद्यालय कर्मचारी, कार्यालय सहयोगी लगायतलाई सरकारले उपलब्ध गराउँदै आएको न्यूनतम पारश्रिमक उपलब्ध गराउने निर्णय गरेको छ । यसको लागि गाउँपालिकाले साउन महिनादेखि लागू हुने गरी ७ हजार रुपैयाँ दिने निर्णय गरेको हो । 

 


पाँच वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति गठन गरेर विद्यालयलाई प्रभावकारी शिक्षणको व्यवस्था मिलाइने बताउनुभयो । यस्तै गाउँपालिकाभित्रका सबै विद्यालयहरुमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिको व्यवस्थापन गरिने अध्यक्ष धामीले बताउनुभएको छ । विद्यालयमा प्रधानाध्यापक नियुक्तिको लागि प्रदेश लोकसेवा आयोगसँग समन्वय गरिने छ । गाउँपालिका बालविबाह छाउपडी, जातिय छुवाछुत र आत्महत्या नियन्त्रण जस्ता गतिविधिमा कमी ल्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।