श्रीलङ्कामा बढ्दो औषधिको अभावले धेरैलाई मृत्यु , भारतले दियो ठुलो साथ

२ बर्ष अघि

२0७९ जेष्ठ १४ शनिबार

श्रीलङ्कामा बढ्दो औषधिको अभावले धेरैलाई मृत्यु , भारतले दियो ठुलो साथ

काठमाडौ । अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले धेरैलाई मृत्युको मुखमा पुगाएको चिकित्सकले बताएका छन् ।

जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको बताइएको छ । श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ ।

अस्पतालहरुमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डाक्टरहरु बताउँछन् । भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेको भए पनि अस्पतालमा ती जीवनदायी ओखती आउन चार महिना लाग्नसक्ने देखिएको छ । सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेका छन् । यता स्थितिमा शीघ्र सुधार नभए धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने चिकित्सकहरु बताए ।

सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ । कोविड–१९ का कारण पर्यटन–निर्भर अर्थतन्त्रमा नराम्रो असर मात्र परेन तेलको मूल्यमा वृद्धि, लोकप्रिय कर कटौती र रासायनिक मलको आयातमा गरिएको प्रतिबन्धले कृषि क्षेत्रलाई पनि तहसनहस पारेको छ ।

स्वास्थ्य सामग्री खरिदमा काम गर्ने एक सरकारी अधिकारीले डायलाइसिसका बिरामीका लागि सुई, प्रत्यारोपण गरेका बिरामीका लागि औषधि र क्यान्सरका केही औषधिलगायत करिब १८० औषधि क्रमशः सकिँदै गएको बताएका छन् । अवस्थाको गम्भीर्य र परिणामबारे सचेत भएकाले चिकित्सकहरू बिरामी वा उनीहरूका आफन्तभन्दा बढी चिन्तित भएका छन् ।

पेट्रोल र खाना पकाउने ग्यासको लागि सर्वव्यापी लामलाई उल्लेख गर्दै सरकारी चिकित्सक सङ्घका प्रवक्ता डा वासन रत्नसिङ्गमले उपचारको पर्खाइमा रहेकाको स्थिति भयावह भएको बताएका छन् ।

यदि बिरामी औषधिका लागि लाइनमा छन् भने तिनीहरूले आफ्नो ज्यान गुमाउने अवस्था आएको उनले बताए ।

“भारतले यो हदसम्म कुनै पनि अन्य देशलाई सहयोग गरेको छैन, हामी भारतप्रति आभारी छौँ,” श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिसले कोलम्बोको बन्दरगाहमा चिकित्सा सामग्री हजारौँ बोरा बोरा बोकेको जहाजको छेउमा उभिएर भनेका छन् ।

श्रीलङ्काले स्वतन्त्रता प्राप्त गरेपछि सामना गर्नुपरेको यो सबैभन्दा कठिन समय भएको छ ।