भारत संग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन

२ बर्ष अघि

२0७९ जेष्ठ १२ बिहीबार

भारत संग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन

दार्चुला । भारत संग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन भएका छन् ।  तुइन विस्थापन कार्यक्रम अन्तरगत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुङ्गे पुल संचालनमा आएका छन । व्यास गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल विहिवार उद्धघाटन गरिएको हो । नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुबै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीयको उपस्थितिमा पुल उद्घाटन गरिएको हो । एकै प्याकेजमा निर्माण सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निर्णय भइसकेको थियो । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तरगत बडूगाउँ र बाँकुमा गत फागुनमै झोलुङ्गे पुल निर्माण सम्पन्न भएका थिए ।
व्यास गाउँपालिका–४ मडगाउँमा पनि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भइसकेको छ । तर अन्य भौतिक संरचना निर्माण कार्य भइरहेको छ । यस्तै व्याँस गाउँपालिका–२ मालमा पुल निर्माणाधीन छ । यसअघि दार्चुलामा भारतसँग सीमा जोडिएका ६ पुल संचालनमा रहेका छन् । हालसम्म व्यासको सीतापुल र तिग्रम, महाकालीको खलंगा र दत्तु, मालिकार्जुनको जोलजिवि र लेकमको लालीमा पुल सञ्चालित थिए । थप दुई पुल निर्माण सम्पन्न हुदा समेत सञ्चालनमा ढिलाइ हुदा तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल उद्घाटन भएर सञ्चालनमा आएसंगै हर्षित भएका छन्  ।