गठबन्धनको साइड इफेक्टः सुदूरपश्चिमका १९ पालिकाको प्रमुख–उपप्रमुख पुरुष

२ बर्ष अघि

२0७९ जेष्ठ ९ सोमबार

गठबन्धनको साइड इफेक्टः सुदूरपश्चिमका १९ पालिकाको प्रमुख–उपप्रमुख पुरुष

धनगढी । सुदूरपश्चिममा स्थानीय तह सदस्य निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अन्तिम मत परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये डेढ दर्जन बढी पालिकाको प्रमुख र उपप्रमुखमा पुरूष निर्वाचित भएका छन्। गठबन्धनमा आवद्ध दलहरूले प्रमुखरउपप्रमुखमा महिलालाई टिकट नदिएको कारण सदूरपश्चिममा स्थानीय पालिकाको नेतृत्वमा महिलाको उपस्थिति गत निर्वाचनभन्दा कम भएको छ। हालसम्मको नतिजाअनुसार प्रदेशका १९ पालिकाको प्रमुख–उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। 

प्रदेशको बझाङमा सबैभन्दा कम पालिकामा महिला नेतृत्व आएको छ। १२ पालिका रहेको बझाङमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीबीच भएको गठबन्धनले ७ पालिकाको प्रमुख र उपप्रमुखमा महिला निर्वाचित हुन सकेनन्। ती पालिकामा गठबन्धनले प्रमुख दुई पदमा पुरुषलाई नै टिकट दिएकोले महिला जित्न सकेनन्। 

बझाङको खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उत्तम रोकाया निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका विष्णुकुमार थापाले जितेका छन्। बझाङकै छविसपाथिभेराको अध्यक्षमा माओवादीका वसन्तबहादुर चलाउने र उपाध्यक्षमा एमालेका लछिराम बोहराले जित हासिल गरेका छन्। थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाशबहादुर रोकाया आएका छन् भने उपाध्यक्षमा काँग्रेसका रामबहादुर खातीले चुनाव जितेका छन्। दुर्गाथलीको अध्यक्षमा माओवादीका दीलबहादुर थापाले जितेका छन् भने उपाध्यक्षमा काँग्रेसका जनकबहादुर दौल्याल निर्वाचित हुन सफल भएका छन्। 

बझाङकै मष्ठा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका ज्ञानबहादुर बोहरा र माओवादीका हर्क धामी निर्वाचित भएका छन्। दुई नगरपालिका रहेको बझाङमा प्रमुख र उपप्रमुखमा पुरुषले नै चुनाव जितेका छन्। जयपृथ्वी नगरपालिकामा काँग्रेसका चेतराज बजाल र उपप्रमुखमा माओवादी केन्द्रका रतनबहादुर सिंहले बाजी मारेका छन्। बझाङको बुगंल नगरपालिकामा पनि गठबन्धनका जयबहादुर धामी नगरप्रमुख र धनबहादुर बोहरा उपप्रमुखमा निर्वाचित भएका छन्।

उता अछामको मेल्लेख गाउँपालिकामा माओवादी केन्द्रका ज्वालसिंह साउँद र उपाध्यक्षमा काँग्रेसका नृपबहादुर खड्काले चुनाव जितेका छन्। 

कैलालीमा पनि प्रमुख र उपप्रमुख पुरुष सदस्य निर्वाचित भएका छन्। कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारू नगरप्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा माओवादीका खडकबहादुर शाह निर्वाचित भएका छन्। 

कैलालीकै गौरीगंगा नगरपालिकामा माओवादीका देवीदत्त कडेल नगरप्रमुखमा निर्वाचित हुँदा उपप्रमुखमा काँग्रेसका भोजबहादुर बम विजयी भएका छन्। वर्दगोरिया गाउँपालिकामा एमालेका कर्णबहादुर कुँवर अध्यक्ष भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरीले जितेका छन्। कैलालीको पहाडी स्थानीय तह मोहन्यालमा पनि दुबै पदमा पुरुष नै निर्वाचित भएका छन्। मोहन्यालको अध्यक्षमा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा कमलबहादुर साउँदले जितेका छन्।

कञ्चनपुरमा भने बेलौरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः माओवादी केन्द्रमा पोतिलाल चौधरी र उपाध्यक्षमा एमालेका जोगराम चौधरीले जित हासिल गरेका छन्। १० स्थानीय तह रहेको बैतडीमा दुई पालिकाको प्रमुख र उपप्रमुखमा पुरुष निर्वाचित भएका छन्। डिलासैनीको अध्यक्ष र उपाध्यक्षमा क्रमशः सन्तोषप्रकाश जोशी र भगीरथ बोहरा निर्वाचित भएका छन्। यसैगरी पाटन नगरपालिकामा काँग्रेसका गौरीसिंह भण्डारी र उपप्रमुखमा माओवादीका कमलसिंह बोहराले चुनाव जितेका छन्।

दार्चुला जिल्लाका ३ पालिकामा महिलाले प्रमुख उपप्रमुखमा जित हात पार्न सकेनन्। दार्चुलाको नौगाड, मालिकार्जुन र व्याँस गाउँपालिकामा महिला नेतृत्व आउन सकेन। नौगाडको अध्यक्षमा माओवादी केन्द्रका दलजितसिंह धामी र उपाध्यक्षमा जगतसिंह ठगुन्ना निर्वाचित भएका छन्।

मालिकार्जुनमा भने एमालेका हिरासिंह धामी अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा माओवादीका कल्याणसिंह धामी उपाध्यक्ष भएका छन्। दार्चुलाको व्याँसमा एमालेका मंगलसिंह धामी र माओवादीका विनोदसिंह कुँवर निर्वाचित भएका छन्। 

२०७४ मा प्रदेशका ८८ पालिका मध्ये ८७ पालिकामा प्रमुख या उपप्रमुखमा महिला जनप्रतिनिधि निर्वाचित भएका थिए। २०७९ मा दलहरुले महिला नेतृत्वलाई थप सशक्त बनाउनुपर्नेमा उम्मेदवारी दर्ताबाट नै उनीहरुलाई वञ्चित गरेको पाइएको छ। दिनेश खबर बाट