अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री पत्नी आरजुको छुट्टै भेट, के भयो कुरा

२ बर्ष अघि

२0७९ जेष्ठ ९ सोमबार

अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री पत्नी आरजुको छुट्टै भेट, के भयो कुरा

काठमाडौं। अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री पत्नी आरजु देउवासँग बेग्लै भेटवार्ता गरेकी छन्।

प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेपछि उपविदेशमन्त्री जियाले पत्नी आरजुलाई एक्लै भेटेकी हुन्। आरजुले महिला सशक्तीकरण, मानवअधिकार, जलवायु परिवर्तन, खाद्य सुरक्षा र विकासका अन्य मुद्दाबारे छलफल गरेको आफ्नो फेसबुकमा उल्लेख गरेकी छिन्।

आइतबार आरजुलाई भेटेपछि उपविदेशमन्त्री जियाले ‘महिला तथा युवतीका पक्षमा लैंगिक समता र समानताका अधिकार अघि बढाउन अग्रमोर्चामा रहेकी नेपालकी प्रखर अभियन्तासँग भेट्न पाउँदा आफूले सम्मानित महशुस गरेको’ बताएकी छन्।

उनले ती सवाल अमेरिकी विदेश नीतिको मुख्य आधार स्तम्भ रहेको समेत बताइन्। ‘महिला सशक्तीकरणको सवाल आर्थिक सुरक्षा र सफल लोकतन्त्रको प्रमुख तत्व हो’ उनले ट्वीटमा भनेकी छन्। नेपाल भ्रमण सकेर उपविदेशमन्त्री जिया आइतवार साँझ अमेरिका फर्केकी छिन्। जियालाई अमेरिकी विदेश मन्त्रालयमा मानवअधिकार, लोकतन्त्र र नागरिक सुरक्षा हेर्ने जिम्मेवारी छ। शुक्रबार भारत भ्रमण सकेर नेपाल आएकी जियाले भारतको धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन्।