सगरमाथा सर्वोच्च शिखरको चुचुरोनजिक मौसम मापन उपकरण राख्न नेपाल र चीन क्षेत्रमा ‘प्रतिस्पर्धा

२ बर्ष अघि

२0७९ जेष्ठ ९ सोमबार

सगरमाथा सर्वोच्च शिखरको चुचुरोनजिक मौसम मापन उपकरण राख्न नेपाल र चीन क्षेत्रमा ‘प्रतिस्पर्धा

काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल र चीन दुवैतर्फ मौसमबारे तथ्याङ्क सङ्कलन गर्ने उपकरणहरू जडान गरिएका विवरण आएपछि एक नेपाली अधिकारीले यस्ता प्रयासमा क्षेत्रीय साझेदारी हुनुपर्ने बताएका छन्।

जल तथा मौसम विज्ञानका महानिर्देशक कमलराम जोशीले चीन र अन्य देशहरूसँग मिलेर मौसम मापन उपकरणहरू सगरमाथामा जडान गर्नुपर्ने धारणा नेपालले राखेको बताएका हुन्।

केही दिनअघि अमेरिकाको न्याश्नल जीओग्राफिक सोसाइटीसहित दुईवटा नेपाली निकायले मिलेर अघि बढाएको अभियानअन्तर्गत सगरमाथामा ८,८०० मिटरभन्दा माथि उपकरण स्थापना गरिएको विवरणहरू आएका थिए।

मे महिनाको सुरुमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा चिनियाँ वैज्ञानिक पर्वतारोहण दल ८,००० मिटरमा यस्तै उपकरण जडान गर्न सफल भएको समाचार प्रकाशित गरेको थियो।

नेपालतर्फको अभियानमा को को

महानिर्देशक जोशीका अनुसार नेपालको दलले ठ्याक्कै कुन उचाइमा उपकरण राखेको हो भन्नेबारे निर्क्योल गर्न बाँकी नै छ। जोशीले भने, “हामी छलफलमा नै छौँ। यसअघि हामीले करिब ८,४०० मिटर उचाइमा रहेको बाल्कोनी भनिने स्थानमा त्यस्ता उपकरण राखेका थियौँ।”

“अहिले ८,८०० मिटरभन्दा माथिको उचाइमा राखिएको जानकारी आएको छ। सम्भवतः अर्को हप्तासम्म हामी यसबारे ठोस जानकारी दिन सक्छौँ।” न्याटजीओ र जल तथा विभागले संयुक्त रूपमा ती उपकरण जडान गरिएका उचाइबारे घोषणा गर्ने बताइएको छ। तर ‘विशप रक’ भनिने ८,८१० मिटरमा अवस्थित स्थानमा ती उपकरण जडान गरिएको बताइएको छ।

जलवायु वैज्ञानिक तथा अमेरिकाको अपलाचन स्टेट यूनिभर्सिटीअन्तर्गत रहेको डिपार्टमन्ट अफ जीओग्राफी एन्ड प्लानिङका प्राध्यापक डा। बेकर पेरी, जलवायु वैज्ञानिक टम म्याथ्यूज र नेपाली वैज्ञानिक अरविन्द्र खड्का सहितको टोली अभियानमा संलग्न थियो। विभागका तीन जना र त्रिभुवन विश्वविद्यालयका अर्का एक सदस्यले उक्त टोलीलाई सहयोग गरेका थिए।