नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

२ बर्ष अघि

२0७९ जेष्ठ ८ आईतवार

नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

काठमाडौ । नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको छ । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको हो । विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको हो ।

भारत सरकारले प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको छ । यसअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्न प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया को ५०÷५० प्रतिशत शेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ ।

नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैँले गर्नेछ । नवलपरासीको सुनवल १३ स्थित न्यू बुटवल सवस्टेसनबाट सुरु भई भारतको गोरखपुर सवस्टेसनसम्म पुग्ने ४ सय केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब १२० किलोमिटर छ ।

त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ । कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ७३ करोड ६० लाख रुपैयाँ भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो ।

प्राधिकरणले लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी स्थापनाको बाटो खुलेको बताइएको छ ।