धनगढीको मेयरमा हमाल र उपमेयरमा राना विजयी

२ बर्ष अघि

२0७९ जेष्ठ ८ आईतवार

धनगढीको मेयरमा हमाल र उपमेयरमा राना विजयी

कैलाली  । सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन् । 

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । हमालले वडलाई १२ हजार बढी मतले पराजित गरेका हुन् । 

हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् । 

यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन् । उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए । 

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ । ०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो ।