दार्चुलाका जनप्रतिनिधिहरुले गरे प्रतिवद्धतासहित सपथ र पदभार ग्रहण

२ बर्ष अघि

२0७९ जेष्ठ ७ शनिबार

दार्चुलाका जनप्रतिनिधिहरुले गरे प्रतिवद्धतासहित सपथ र पदभार ग्रहण

दार्चुला । दार्चुलाका अधिकासं नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ र पदभार ग्रहण गरेका छन् । महाकाली, शैल्यशिखर, मालिकार्जुन, मार्मा, अपिहिमाल, दुहुँ, व्यास र नौगाड लगायत स्थानीय तहका नवनिर्वाचित प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षहरुले पद तथा गोपनियताको सपथ ग्रहणसंगै पदभार ग्रहण गरेका हुन् । महाकाली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले विहिबार पदबहाली गरेका हुन् । जिल्ला सदमुकाम खलंगा क्षेत्र समेत समेटिएको महाकाली नगरपालिकाको नगर प्रमुखमा निर्वाचित नरसिंह चैसिर र उप प्रमख दुर्गा खत्री विष्टले गत बिहिबार पदभार ग्रहण गर्नुभएको हो । मेयर चैसीरले नगरपालिकाले पाँच सयसम्म लिने गरेको सिफारिस दस्तुरलाई सयमा झार्ने घोषणा गर्नुभएको छ ।

अन्य विभिन्न स्थानीय तहमा जनप्रतिनिधिहरुले शुक्रबार  पदभार ग्रहण गरेका छन् । नौँ वटै स्थानीय तह प्रमुखहरुलाई गत विहिबार जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायधिशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।


शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै मेयर धामीले सरकारी कार्यालयबाटै सेवा प्रवाह गर्ने घोषणा गर्नुभएको छ । यसअघिको नेतृत्वले वडा तथा नगरका सरकारी भवनलाई बाँझो राखेर आफन्त÷कार्यकर्ताका घरहरू भाडामा लिइ कार्यालय सञ्चालन गर्दै आइरहेको आरोप लाग्ने गरेको थियो । नव–निर्वाचित नगरप्रमुख विजयसिंह धामीले आजैका मितिदेखी वडा तथा नगरपालिकाका कार्यालयहरू सरकारी भवनबाटै प्रशासकीय कामकाज थाल्ने प्रतिबद्धता सहित गोकुलेश्वर माध्यमिक विद्यालयसङ्गै रहेको शैल्यशिखर नगरपालिकाको पुरानो ९सरकारी० भवनमा पदभार ग्रहण गर्नुभएको हो ।

यस्तै नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी र उपाध्यक्ष जगतसिंह ठगुन्नाले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष धामीले सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सुशासन, विकास र समृद्धिका लागि काम गर्न सबैलाई निर्देशनात्मक अनुरोध गर्नुभएको छ । नौगाड र नौगाडबासी जनताको पक्षमा काम गर्ने घोषणासहित पदभार ग्रहण गरेको अध्यक्ष धामीले बताउनुभयो । व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी र उपाध्यक्ष विनोद कुवँरले पनि आजै सपथ ग्रहण गर्नुभएको छ । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी र उपाध्यक्ष पंकज धामीले पनि सपथ ग्रहण गर्नुभएको छ ।

दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडाल र उपाध्यक्ष शान्ति बमले शुक्रबार सपथ ग्रहण गर्नुभएको छ । पदभार ग्रहणको अवसरमा दुहुँका अध्यक्ष नरेन्द्र बडालले शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको विकासमा प्रतिवद्ध भएर काम गर्ने घोषणा गर्नुभएको छ । कसैप्रति पुर्वाग्रह नराखि सन्तुलित र न्यायोचित काम गर्ने अध्यक्ष बडालको भनाई छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी र उपाध्यक्ष सर्मिला सिंह, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे र उपाध्यक्ष देबकी बोहरा लगायतले समेत आजै सपथ ग्रहण गर्नुभएको छ ।

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले सपथ ग्रहण गर्नुभएको छ । लेकममा अरु जनप्रतिनिधिको सपथ ग्रहण र पदभार ग्रहण शनिबार विहान ११ बजे रातामाटामा गर्ने तयारी रहेको लेकमका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण भट्टले जानकारी दिनुभयो । सपथ तथा पदभार ग्रहण कार्यक्रममा उपस्थितिका लागि सबै जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवि लगायतलाई अनुरोध गरिएको छ ।