आज रातिदेखि मौनअवधि ः के गर्न पाईन, के पाइन्न ?

२ बर्ष अघि

२0७९ बैशाख २७ मंगलवार

आज रातिदेखि मौनअवधि ः के गर्न पाईन, के पाइन्न ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोष्ट वा सेयर गर्न गराउन आयोगले रोक लगाएको छ।

पौडेलका अनुसार निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ। नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन  आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन्। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न यस्तो निर्णय गरिएको प्रवक्ता पौडेलले बताए। 

अस्पतालका चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावशक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन। मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय आयोगले गरेको छ। वैशाख ३० गते वर्षात हुने मौसम पूर्वअनुमानअनुसार आयोगले सावधानी अपनाउन भनेको छ।