सत्ता गठबन्धन र एमालेको आज पनि ठाउँठाउँमा चुनावी सभा

२ बर्ष अघि

२0७९ बैशाख २४ शनिबार

सत्ता गठबन्धन र एमालेको आज पनि ठाउँठाउँमा चुनावी सभा

काठमाण्डौ । सत्ता गठबन्धन र प्रतिपक्ष दल एमालेले आज पनि ठाउँठाउँमा चुनावी सभा गर्दैछ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला शीर्ष नेताहरू चुनावी अभियानमा छन्। गठबन्धनले आज रुपन्देहीको बुटवलमा सभा तथा शक्ति प्रदर्शन गर्दैछ ।

चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, माओवादी नेता चन्द्रप्रकाश खनाल बलदेवलगायतल सम्बोधन गर्ने तयारी छ । पालिका चुनावको मुख्य दिन नजिकिएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी प्रचारलाई तीव्रता दिएको छ ।

गठबन्धनले अस्ति बिहीवार चितवन र हिजो काठमाण्डौमा संयुक्त चुनावी सभा गरेको थियो । आजै प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा तनहुँको दमौलीमा हुने चुनावी सभामा सहभागी हुने कार्यक्रम छ । व्यास नगरपालिका–३ अनसन चौतारीमा हुने सभालाई देउवासहित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा। प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

यस्तै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुग्नुभएको छ । त्यहाँ उहाँले गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज प्रदेश एकका विभिन्न ठाउँमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।