चुनावको मुखमा याद आए ओलिलाई रेशम चौधरीलाई जेलमा थुनिरहनुपर्ने कारण छैन

२ बर्ष अघि

२0७९ बैशाख २४ शनिबार

चुनावको मुखमा याद आए ओलिलाई रेशम चौधरीलाई जेलमा थुनिरहनुपर्ने कारण छैन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन्। बिहीबार कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘यो कैलालीमा टीकापुर घटना भयो। यस घटनाले गर्दा यहाँका थारु नेताहरु अहिले पनि जेलमा छन्। तर, रेशम चौधरी र थारु नेताहरुलाई जेल हाल्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘सरकारले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरुलाई थुनेर राखेको छ।’

टीकापुरमा नाबालकसहित सातजनाको ज्यान गएका बेला घटनास्थलमा नभएका रेशमलाई मुद्दा लगाएर जेल हाल्नु गलत भएको उनले बताए।

ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति गरेको स्मरण गरे। थारु समुदायका समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले सहमति गरे पनि अर्को सरकारले कार्यान्वयन नगरेको उनले बताए।

‘मैले सहमति गरेको थिएँ, तर सरकार छाड्नुपर्यो,’ उनले भने, ‘अहिलेको सरकारले सहमतिको प्रयास गरेन। रेशमलाई अझै पनि जेलमा थुनिएको छ।’