स्थानीय तह निर्वाचनका लागि दार्चुलामा तयारी तिव्र

२ बर्ष अघि

२0७९ बैशाख २३ शुक्रबार

स्थानीय तह निर्वाचनका लागि दार्चुलामा तयारी तिव्र

दार्चुला । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दार्चुलामा तयारी तिव्र बढाएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा निर्वाचन अधिकृत यसअघि नै खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार जिल्लाको जिल्लाको महाकाली नगरपालिकामा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्य,  शैल्यशिखर नगरपालिकामा हरि सिंह धामीलाई खटाइएको छ ।

यस्तै ब्यास गाउँपालिकामा कौशलेश्वर ज्ञवाली, दुहुँ गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओम प्रसाद भट्टराई, लेकम गाउँपालिकामा ज्ञानेन्द्र पराजुली, नौगाड गाउँपालिकामा गोबिन्दराज सेदाई, मार्मा गाउँपालिकामा लवराज जोशी र अपिहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृतका रुपमा खटिएका छन् ।

निर्वाचनका लागि १ हजार भन्दा बढि कर्मचारी खटाइने

स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि जिल्लामा १ हजार ८१ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिएका छन् । कर्मचारी खटाउनेबारे आन्तरीक तयारी पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लामा निर्वाचनका लागि २ सय ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, २ सय ४७ जना सहायक कर्मचारी, १ सय ३९ जना कार्यालय सहयोगी र ४ सय १७ जना स्वयम सेवक गरी १ हजार ८१ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयको तयारी रहेको छ । हाल कर्मचारीहरुको सूची तयार पारीसकेको तथा वैशाख २७ गते भित्र सम्बन्धित मतदान स्थल तथा मतदान केन्द्रहरुमा पुग्ने गरी खटाइने छन् ।

मतपत्रसहित ५८ प्रकारका निर्वाचन सामग्री दार्चुला आइपुगे

निर्वाचनका लागि दार्चुलामा गत सोमबार ९९ हजार मतपत्र आइपुगेको छ। अहिले ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ। निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ। हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार दार्चुलामा १ सय १० वटा मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्रहरु रहेका छन् भने जिल्लाभरि कूल ८८ हजार २ सय १५ जना मतदाता रहेका छन् ।