नेपालका लागि भारतका नयाँ राजदूतमा ’चीन विज्ञ’ श्रीवास्तवको चर्चा

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

नेपालका लागि भारतका नयाँ राजदूतमा ’चीन विज्ञ’ श्रीवास्तवको चर्चा

 काठमाडौ । भारतले नेपालका लागि नयाँ राजदूत चीन विज्ञका रूपमा परिचित कूटनीतिज्ञ नवीन श्रीवास्तवलाई पठाउने तयारी गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । काठमाडौं स्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालय स्रोतले पनि श्रीवास्तव नै नयाँ राजदूतको रुपमा आउन लागेको उल्लेख गरेको छ ।
यसअघिका राजदूत विनयमोहन क्वात्रालाई भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेपछि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउने तयारी थालेको हो ।

क्वात्राले आइतबार नै भारतीय विदेश सचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको हो ।


भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव नवीन श्रीवास्तव लाई नेपालका लागि राजदूत नियुक्त गर्ने सम्भावना रहेको छ । भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको ’संवेदनशील सम्बन्ध’ सम्हाल्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । चीन विज्ञका रूपमा परिचित उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडप पछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए ।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने पनि हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन ९एससीओ० को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए ।