रुसी विदेशमन्त्रीको वयानपछि इजरायल आक्रोशित, माफी माग्नुपर्ने अडान

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

रुसी विदेशमन्त्रीको वयानपछि इजरायल आक्रोशित, माफी माग्नुपर्ने अडान

एजेन्सी । रुसका विदेशमन्त्री सर्गेई लाभरोभको यहुदीहरूबारे दिएको बयानलाई लिएर इजरायल आक्रोशित भएको छ ।

यहुदीहरू हिटलरको हिस्सा भएको लाभारोभको बयानमा इजरायलले आक्रोश व्यक्त गरेको हो । उक्त बयानका लागि रुसले माफी माग्नुपर्ने पनि बताएको छ ।

इजरायलका विदेशमन्त्री यायिर ल्यापिडले रुसी राजदूतलाई ‘स्पष्टीकरण’का लागि बोलाएर माफी माग्नुपर्ने माग गर्नुभएको हो । लाभरोवले आइतबार इटालियन टेलिभिजनलाई दिएको अन्तरवार्तामा त्यस्तो टिप्पणी गर्नुभएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की यहूदी रहेको एक प्रश्नमा लाभरोभले युक्रेनमा नाजीको अस्तित्वलाई अस्वीकार गर्न मिल्दैन भन्दै हिटलरको पनि यहूदी रगत नै थियो भन्ने जवाफ दिनुभएको थियो ।

इजरायली विदेशमन्त्री ल्यापिडले लाभरोवको यो टिप्पणी अपमानजनक, अक्षम्य र ऐतिहासिक त्रुटी हो भन्दै रुसले माफी माग्नुपर्नेमा जोड दिनुभएको हो ।

युक्रेन र रुसबीच सन्तुलन कायम राख्न इजरायलले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको समयमा आएको उक्त वयानका कारण इजरायलमा असन्तुष्टि बढेको छ ।

यस्तै इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले यस्ता झूटहरूको अर्थ यहूदीहरूलाई इतिहासको सबैभन्दा भयानक अपराधको लागि दोषी ठहर्‍याउने र यहूदीहरूका उत्पीडकहरूलाई उनीहरूको जिम्मेवारीबाट मुक्त गराउने षडयन्त्र भएको बताउनुभयो