दार्चुलामा चट्याङले २ सय ५० भेडाबाख्रा मरे

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

दार्चुलामा चट्याङले २ सय ५० भेडाबाख्रा मरे

दार्चुला – दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् ।

दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए । भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ।

चट्याङ परेको वनक्षेत्र दुँहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ । चट्याङले एकैपटक यति ठूलो क्षति भएपछि बाख्रापालक किसान चिन्तित बनेका छन् । ‘सबै काम थाती राखेर बाख्रामा लगानी गरियो । तर, आज यति ठूलो क्षति भयो । अब के गर्ने  कहाँ जाने रुसम्झिँदा पनि मन भक्कानिन्छ  अर्का बाख्रापालक किसान जमन बडालले भने।

घटनाको जानकारी दुँहु गाउँपालिका कृषि शाखा र गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीलाई गराएको र क्षतिको अध्ययन गरी बाख्रापालन व्यवसाय सञ्चालन गर्न सो अनुसारको क्षतिपूर्ति सहयोग रकम उपलब्ध गराइदिन अनुरोध गरिएको पीडित किसान कार्कीले बताएका छन् ।