शैल्यशिखरमा माओवादी फुट्यो, समानान्तर कमिटी गठन

२ बर्ष अघि

२0७९ बैशाख २0 मंगलवार

शैल्यशिखरमा माओवादी फुट्यो, समानान्तर कमिटी गठन

बैशाख २० दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा माओवादी केन्द्र फुटेको छ । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धनको विषयलाई लिएर माओवादी केन्द्र फुटेको हो । गठबन्धनको विपक्षमा रहेका शैल्यशिखर नगरपालिकाका माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य कालु चन्दको नेतृत्वमा ६१ सदस्यीय समानान्तर कमिटी गठन गरेका छन् । शैल्यशिखर नगरपालिकामा गठबन्धको नाममा पूरै पार्टी नेपाली काग्रेसमा बुझाउने काम भएको भन्दै विद्रोह स्वरुप समानान्तर कमिटी गठन गरिएको चन्दले बताउनुभयो । नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन हुँदा शैल्यशिखर नगरपालिकामा माओवादी केन्द्रको भागमा दुई वटा वडा मात्रै परेको छ । नगरपालिकामा आफुहरुको उपस्थिती हुँदाहँुदै पनि नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री मानबहादुर धामीले पार्टीलाई काग्रेँस बुझाएको आरोप चन्दको छ । उहाँले अहिलेको गठबन्धनमा आफुहरुले साथ नरहने समेत प्रस्ट्याउनुभयो । चन्द नेतृत्वको माओवादीलाई नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य मानबहादुर साउँद शिशिर, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य मान बहादुर विक, शैल्यशिखर नगर कमिटी सदस्य चक्र विक, चुडामणी साउँद लगायतले साथ दिएका छन् । शैल्यशिखर नगरपालिकामा माओवादी केन्द्रको नगर कमिटी अध्यक्ष कर्ण भण्डारी हुन् ।