दार्चुलामा निर्वाचन सामाग्री गाउँ पठाउने तयारी गरिदै

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

दार्चुलामा निर्वाचन सामाग्री गाउँ पठाउने तयारी गरिदै

दार्चुला ।  स्थानीय तह निर्वाचनका लागि दार्चुलामा निर्वाचन सामाग्री गाउँ पठाउने तयारी गरिदै छ । निर्वाचनको लागि चाहिने आवश्यक सामाग्री जिल्ला आइपुगेका कारण समान चेकजाँच गरि प्याकिङको काम भइरहेको छ । बैशाख २७ गतेभित्र सबै स्थानीय तहका निर्वाचन मतदान केन्द्रमा आवश्यक सामाग्री पुर्याइ सकिने जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले बताउनुभयो । मतपेटिकासहित आवश्यक निर्वाचन सामग्रीहरु खलंगा ल्याइएको छ ।

अहिले रुजु गरेर गाउँ पठाउन प्याकिङको काम चलिरहेको छ । जिल्लाको लागि यो पटक एक सय नयाँ मतपेटिका ल्याइएको छ । यसअघि जिल्लामा ५ सय बढि मतपेटिका सुरक्षित रहेको धामीले बताउनुभयो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री जिल्लामा ल्याइएको हो । मतपत्र र मतदाता परिचयपत्र बाहेक सबै सामग्री आइसकेको कार्यालय प्रमुख धामीको भनाई छ । मतपेटिकासहित छेकवार, स्वस्तिक छाप, मसीदानी, मतदाता नामावलीको सूची लगायत सामग्री छन् । रुजु गरेपछि सबै गाउँ पठाईन्छ । जिल्लाका ९ वटा स्थानीय तहमा १ सय १० वटा मतदानस्थल र १ सय ३९ वटा मतदान केन्द्र रहेका छन् । मतदाता संख्या ८८ हजार २ सय ८५ रहेको छ ।

स्थानीय तह निर्वाचनको लागि दार्चुलामा एक हजार बढि कर्मचारी प्रत्यक्ष रुपमा खटिने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाभरी १ हजार ८१ जना कर्मचारी खटिने भएका हुन् । ९ वटा स्थानीय तहका ११० मतदानस्थल र १३९ मतदान केन्द्रमा कर्मचारी खटिने छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीपसिह धामीका अनुसार जिल्लाभरी १३९ जना मतदान अधिकृत, १३९ जना सहायक मतदान अधिकृत २४७ जना सहायक कर्मचारी, १३९ जना सहयोगी निर्वाचनमा खटिनेछन् । यस्तै सबै केन्द्रमा ४१७ जना स्वयंसेवक खटिने छन् ।

निर्वाचनमा खटिने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ, धामीले भन्नुभयो, कुन क्षेत्रबाट कहाँ कहाँ कर्मचारी खटाउने मुख्य निर्वाचन अधिकृतको अधिकार हो । यो पटक सबैभन्दा बढि मतदान केन्द्र गोरीलमाण्डौ हिकिलामा छ । यहाँ ३ वटा मतदान केन्द्र रहेका छन् । जिल्लामा एक मतदानस्थल रहेको मतदान केन्द्र ८२ वटा, २ भन्दा बढि मतदानस्थल रहेका मतदान केन्द्र २७  वटा रहेका छन् । निर्वाचन कार्यालयले आवश्यक सबै प्रक्रिया पुर्याएको छ । अहिले दिनुहुँ निर्वाचनको काम चलिरहेको छ, उहाँले भन्नुभयो ।