सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्नेलाई कडा कारबाही हुने, फेसबुक मुख्यालयमा सम्पर्क गर्ने आयोगको प्रयास

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्नेलाई कडा कारबाही हुने, फेसबुक मुख्यालयमा सम्पर्क गर्ने आयोगको प्रयास

काठमाण्डौ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगमा आज आइतवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर हुँदै नभएका र तोडमोड गरिएका सामग्री सामाजिक सञ्जालमा राखेर फैलाउने क्रम बढेको भन्दै कडा निगरानी गरेर कारबाही गर्ने बताउनुभयो । 

राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरेर मिथ्या सामग्री, दुष्प्रचार र द्वेष अभिव्यक्ति फेसबुक, ट्विटर, टिकटक, भाइबर र अन्य सामाजिक सञ्जालमार्फत प्रचार भइरहेको भन्दै आयोगले गलत र भ्रामक सामग्री, व्यक्तिगत लाञ्छना तथा मानहानी हुने जस्ता क्रियाकलापका कारण स्वच्छ र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गर्ने काममा बाधा पुगेको जनाएको छ । यस्ता काम नगर्नरनगराउन आयोगले सर्वसाधारण, दल र उम्मेदवार सबैमा आग्रह गर्दै प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ । 

आयोगले मिथ्या सामग्री फैलिनबाट रोक्न फेसबुक, ट्विटर, टिकटक लगायत कम्पनीसँग समन्वय गर्नका लागि सम्पर्कको पहल भइरहेको जनाएको छ । यसका लागि नयाँ दिल्ली, वाशिङ्टन र बेइजिङमा रहेका सामाजिक सञ्जालका कार्यालयसँग सम्पर्क गर्न त्यहाँ रहेका नेपाली दूतावासले सम्पर्क र समन्वय गर्न आयोगले परराष्ट्रमार्फत निर्देशन गरेको छ । 

यस्तै चुनावसँग सम्बन्धित गलत सामग्रीको प्रचारप्रसार रोक्नका लागि इन्टरनेट सेवा प्रदायक र केवल टेलिभिजन सञ्चालकलाई पनि आयोगले पत्राचार गरेको छ । उज्यालोबाट