नेपाल र भारतका अधिकारीबीच चुनाव केन्द्रीत छलफल, ४८ घण्टाअघि नाका बन्द गरिने

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

नेपाल र भारतका अधिकारीबीच चुनाव केन्द्रीत छलफल, ४८ घण्टाअघि नाका बन्द गरिने

काठमाडौ । स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेर नेपाल र भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले शुक्रवार छलफल गरेका छन् । उक्त अवसरमा बैशाख ३० गते हुने चुनावका लागि कञ्चनपुरको नेपाल–भारत सीमा नाका ४८ घण्टा अघिदेखि बन्द गर्ने र अपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको छ ।

स्थानीय तहको निर्वाचनको तयारी स्वरुप सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखहरुको वैठक बसेको छलफलमा सहभागी सशस्त्र प्रहरीका एसपी अमरबहादुर ऐरले जानकारी दिए ।

निर्वाचनका बेला सीमा क्षेत्रमा आवश्यक सुरक्षासँगै नाका बन्द गर्ने विषयमा पनि छलफल र सहमति भएको थियो । नाका बन्द भएका बेला बिरामी तथा अत्यावश्यक कामका लागि आउजाउ गर्नेलाई भने रोकटोक गरिने छैन । 

बैठकमा सीमा नाकामा आवागमनमा हुने समस्यादेखि मानव बेचविखन तथा ओसारपसार, तस्करी र वन्यजन्तुका आखेटोपहार ओसारपसार लगायतको नियन्त्रणका लागि समन्वय तथा सुचना आदानप्रदानका विषयमा छलफल भएको छ । 

कञ्चनपुरसंगै भारततर्फ उत्तरप्रदेशको पिलिभित तथा उत्तराखण्डका उद्यमसिंहनगर र चम्पावत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकमा उपस्थिति रहेको थियो । बैठकमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरीका डिआइजी दुर्गा भट्टराई, तथा भारत उत्तराखण्डको कुमाउ रेञ्जका डिआइजी निलेश आनन्द भरणेलगायतको सहभागिता रहेको थियो ।