काठमाडौं । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको निर्वाचन सुरक्षा तयारीबारे समीक्षा गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा मन्त्रालयमा बसेको समितिको निर्वाचन सुरक्षा तयारी र चुनौतीबारे छलफल भएको छ। सुरक्षा अधिकारीले चुनौतीबारे ब्रिफिङ गरेका थिए। वैशाख ३० मा तय भएको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
‘सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले निर्वाचनका लागि गरिएको सुरक्षा तयारी र रणनीतिबारे ब्रिफिङ गर्नुभयो। थप सुरक्षा प्रबन्ध राम्रो कसरी बनाउने र स्वच्छ निष्पक्ष र धाधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भयो,’ उनले भने।
गृहमन्त्री खाणले सुरक्षा निकायका प्रमुखहरूले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंसा गरे। स्वच्छ, निष्पक्ष र धाधलीरहित चुनाव बनाउने जिम्मेबारी सबैको भएकाले त्यसमा कुनै पनि कसुर बाँकी नराखी लाग्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए। ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ,’ गृहमन्त्री खाणले भने, ‘अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपाईहरू निर्वाचन सम्पन्न गर्न लाग्नुहोला। हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ।’ निर्वाचनमा आउन सक्ने चुनौती के के हुन् र ती चुनौती चिर्दै निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि मन्त्री र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो धारणा राखेका थिए।
बैठकमा गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, गृहप्रवक्ता पोखरेलसहित सुरक्षा निकायका अन्य अधिकृतहरू र मन्त्रालयका सम्बन्ध पदाधिकारीको सहभागिता थियो।