काठमाडौं । श्रीलंका र पाकिस्तानमा जारी राजनीतिक एवम् आर्थिक संकटका कारण ती मुलुकहरुमा चिनियाँ लगानीमाथि नकारात्मक असर परेको देखिएको छ । विश्वभर चिनियाँ लगानीको निगरानी गर्दै आएको चाइना ग्लोबल इन्भेष्टमेन्ट ट्र्याकर सीजीआईटीका अनुसार चीनको श्रीलंकामा १५ अर्ब र पाकिस्तानमा ६६ अर्ब डलर बराबरको लगानी छ ।
चीनको महत्वकाङ्क्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चाइना पाकिस्तान इकोनोमिक करिडोर ९सिपेक० को काम सन् २०२५ भित्र सक्ने लक्ष्य भएपनि धेरै काम अधुरै रहेकाले त्यो सम्भव नभएको बताइएको छ ।
४६ अर्ब डलर बराबरको उक्त परियोजना स्थानीय सरकारको कमजोरी, आतंककारी आक्रमणको जोखिम, भ्रष्टाचार लगायतका कारणले अझै सम्पन्न हुन सकेको छैन ।
यही सन्दर्भमा चीनले यसमा पैसा खर्च गर्न आनाकानी गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यसबाहेक चीनले लगानी गरेका यस्ता परियोजनालाई लगानी उठाउन समेत हम्मे हम्मे परिरहेको जनाइएको छ ।
३० करोड डलरको लागतमा निर्मित पाकिस्तानको गोदर बन्दरगाहले अझै अपेक्षा अनुरूप लाभ प्राप्त गर्न सकेको छैन भने यसबाहेक बन्दरगाहबाट हुने आम्दानी बाँडफाँडका विषयमा पनि दुई मुलुकबीच असमझदारी देखिन्छ ।
४० वर्षसम्म उक्त बन्दरगाहबाट प्राप्त हुने आम्दानीको ९१ प्रतिशत चीनले लैजाने र बाँकी ९ प्रतिशत मात्रै गोदर पोर्ट अथोरिटीको भागमा पर्ने सन् २०१७ को फेब्रुअरी महिनामा खुलासा भएको थियो ।
श्रीलंका चिनियाँ ऋणको धरापमा परेको अर्को उदाहरण हो । हालै श्रीलंका सरकारले ३५ अर्ब डलर बराबरको विदेशी ऋण तत्काल तिर्न नसक्ने संकेत गरेको थियो । श्रीलंकाली अर्थमन्त्रालयले अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको ७ करोड ८० लाख डलर बराबरको ब्याज तिर्न नसकिने जनाएको थियो ।
सन् २०२२ मा श्रीलंकाले ६ अर्ब डलर भन्दा धेरै विदेशी ऋण तिर्नुपर्नेछ । यसमध्ये जुलाई महिनामा मात्रै १ अर्ब डलर तिर्नुपर्नेछ ।
श्रीलंकाली विदेशी ऋणको उल्लेखनीय हिस्सा चीनले ओगट्छ । टाइम्स अफ इण्डियाका अनुसार श्रीलंकाले चीनको चाइना डेभलपमेन्ट बैंकबाट १ अर्ब, एक्जिम बैंकबाट २ अर्ब ७० करोड र २ अर्ब ३७ करोड अन्य ऋण लिएको छ ।
यस वर्षको शुरुमा श्रीलंकाले ऋणको पुनरावलोकन गर्न चीनसमक्ष आग्रह गरेको थियो । अहिले श्रीलंकाको अवस्था अझ बिग्रिदै गएको छ ।
सन् २०१७ को डिसेम्बर महिनामा श्रीलंकाले चीनको ऋण तिर्न नसकेका कारण हम्बनटोटा बन्दरगाह नै ९९ वर्षका लागि चीनको जिम्मा लगाउनु परेको थियो । त्यसबेला चीनले श्रीलंकाबाट ८ अर्ब डलर बराबरको ऋण असुल्न बाँकी थियो ।
श्रीलंकामा चीनले लगानी गरेका परियोजनाबाट पनि लगानी उठ्न हम्मे हम्मे परिरहेको छ । सीजीआईटीका अनुसार चीनले श्रीलंकाका विभिन्न ४१ परियोजनामा १५ अर्ब डलरको लगानी गरेको छ । यिमध्ये ६ अर्ब डलर श्रीलंकाको यातायात पूर्वाधारमा मात्रै लगानी गरिएको छ ।
श्रीलंकाले ऋण तिर्न नसकिरहेको अवस्थामा पाकिस्तानले पनि चिनियाँ ऋण तिर्न ढिला गर्न थालेको छ । पाकिस्तानले चिनियाँ बैंकबाट प्राप्त ऋणको ब्याजदर पनि समायोजन गर्दै आग्रह गरेको छ ।