कञ्चनपुरमा गठबन्धन भत्किने संकेत, माओवादी र समाजवादी छुट्टै छलफलमा

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

कञ्चनपुरमा गठबन्धन भत्किने संकेत, माओवादी र समाजवादी छुट्टै छलफलमा

महेन्द्रनगर । कञ्चनपुरमा सत्ता गठबन्धनका सहयात्री दलहरुको संयन्त्रमा आसन्न स्थानीय तह चुनावमा तालमेल गर्ने बिषयमा मतैक्य नहुँदा गठबन्धन नै धरापमा पर्ने सम्भावना देखिएको छ ।

गठबन्धनको प्रमुख शक्ति नेपाली कांग्रेसले सहयात्री दल नेकपा माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० लाई पालिका बाडफाड गर्दा दवावमा राख्न खोजेपछि यस्तो परिस्थिति बन्न थालेको हो । तीनै दलको जिल्ला संयन्त्रले हिजो कुनै सहमति जुटाउन सकेन भने कांग्रेसको व्यवहारले माओवादी र समाजवादी उसँग चिढीएका छन् । त्यसले गठबन्धनमै ध्रुबिकरण हुने सम्भावना बढेर गएको छ ।

पार्टी निकट स्रोतहरुका अनुसार माओवादी केन्द्र र समाजवादीका बीचमा आपसमा मिलेर चुनाव लडनेबारेमा घनिभूत ढंगले छलफल चलिरहेको छ । ‘स्थानीय कमिटीदेखि प्रदेश कमिटीसम्मै मिलेर जाने बिषयमा व्यापक छलफल भइरहेको छ,’ माओवादी केन्द्रका एक नेताले सीमारेखासँग भने, ‘जिल्लाका प्रमुख र बहूसंख्यक पालिकाहरु आफू लिने र माओवादी तथा समाजवादीलाई दिएजस्तो मात्रै गर्ने खालको कांग्रेसको व्यवहार देखियो, त्यसैले मित्रवत रुपमै चुनावमा जाने परिस्थिति विकशित भइरहेको हो ।’

माओवादी केन्द्रले बेलौरी, लालझाडी, कृष्णपुर वा शुक्लाफाँटा मध्ये एउटा मागिरहेको छ । समाजवादीले पुनर्वास, बेदकोट र शुक्लाफाँटा वा कृष्णपुर मध्ये एउटामा दाबी गरिरहेको छ । तर, कांग्रेस यसमा सहमत छैन् । उसले भीमदत्त, दोधारा चाँदनी,  शुक्लाफाँटा, कृष्णपुर र बेलडाँडीलगायत दाबी गर्दा कुरा नमिलेको हो ।

हिजो बसेको जिल्ला स्तरिय संयन्त्रको बैठकमा यसबारे छलफल भएपनि सहमति जुटन नसकेपछि तीन वटै पार्टीको दाबी प्रदेशमा पठाउने गरी निर्णय भएको थियो । आज प्रदेश संयन्त्रमै यसबारे छलफल गरिने कांग्रेसका जिल्ला सभापति पदम बोगटीले सीमारेखालाई बताए । ‘पालिका बाडफाडबारे हामी सकारात्मक छौँ, सहमतिकै प्रयास गरिने छ,’ उनले भने ।

समाजवादीका एक नेताका अनुसार सभापति बोगटी आफै भीमदत्त नगरपालिकाको मेयरका दाबेदार हुन् । त्यसैले उनी दवावमा छन् । जिल्लाको गठबन्धन संयन्त्रमा निर्णय गर्दा आफ्नै सहकर्मी बिच्किने र त्यसले चुनावमा प्रभाव पर्ने आँकलनसहित उनले प्रस्ताव प्रदेशमा लग्न जोड दिएका हुन् ।

कांग्रेसले गठबन्धनका सहयात्री दलहरुलाई ‘साइज’ मा राख्न खोजेको बुझाइसहित माओवादी र समाजवादीका नेताहरु आपसी छलफलमा जुटिसकेका छन् । उनीहरुका बीचमा त्यसबारे केही खाँका समेत बनेको छ ।

खासगरी सदरमुकामसमेत रहेको भीमदत्त नगरपालिकामा मिलेर जानेबारेमा छलफल जारी छ । एक नेताका अनुसार समाजवादीले पुराना नेता लोकबिक्रम थापा वा खेम भण्डारी मध्ये एकजनालाई मेयरको उम्मेदवार बनाएर जाने कुरामा छलफल चलिरहेको छ ।