हिन्दु राष्ट्र को माग

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

हिन्दु राष्ट्र को माग

राजविराज । हिन्दू अभियानीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् ।

शनिबार सप्तरीको राजविराजमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा पूर्वअतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको बताए ।

उनले केही नेताहरूले विधर्मीसँग मिलेर नेपाली समाजलाई थाहासमेत नदिई देशलाई रातारात धर्मनिरपेक्ष घोषित गरेकोप्रति असन्तुष्टि जनाए ।

तिम्सिनाले आफ्नो संस्कारमाथि कुनै प्रकारको हस्तक्षेप भएमा बहिष्कार गर्नुपर्ने भन्दै सबैलाई यस अभियानमा लाग्न आह्वानसमेत गरे ।

त्यस्तै, कथावाचक कान्तिमणि त्रिपाठीले सानो सानो गैरसरकारी संस्थाहरूमार्फत् हिन्दूहरूलाई पथभ्रष्ट बनाई विश्वासघात भइरहेको भन्दै राष्ट्रलाई जागृत गराउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा अभियानका सप्तरी संयोजक रमाकान्त यादव, विश्व हिन्दू परिषद् सप्तरीका अध्यक्ष रामकिसुन साहलगायतले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका थिए ।